काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइ, चितवनले जिल्लाका सबै विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा प्रचलित कानुन र आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
एकाइले जारी गरेको पत्रमा शिक्षा नियमावली, २०५९ को नियम १३३ मा उल्लेखित शिक्षकले पालना गर्नुपर्ने आचरणलाई स्मरण गराउँदै कानुनविपरीतका गतिविधि नगर्न सचेत गराइएको छ।
पत्रअनुसार शिक्षक तथा कर्मचारीले नेपाल सरकार वा नेपाली जनताको पारस्परिक सम्बन्धमा असर पर्ने गरी विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पुर्याउने किसिमका अभिव्यक्ति, लेख वा सामग्री प्रकाशन गर्न नहुने व्यवस्था रहेको छ।
त्यस्तै, बेनामी लेख प्रकाशित गर्ने, प्रेसलाई खबर दिने तथा रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यमबाट भाषण प्रसारण गर्ने वा सार्वजनिक भाषण दिने विषयमा समेत सम्बन्धित कानुनी प्रावधानको पालना गर्नुपर्ने एकाइले जनाएको छ।
एकाइले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा जारी निर्देशिका, २०८० को दफा ४ मा उल्लिखित व्यवस्थाविपरीतका गतिविधि नगर्न पनि निर्देशन दिएको छ। सामाजिक सञ्जालको प्रयोगका विषयमा शिक्षक तथा कर्मचारीविरुद्ध विभिन्न माध्यमबाट गुनासो आउने गरेको पत्रमा उल्लेख छ।
निर्देशनमा जिल्लाका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई आफ्नो पेसागत मर्यादा कायम राख्दै प्रचलित कानुन र आचारसंहिताको पालना गर्न आग्रह गरिएको छ। साथै, आचारसंहिता पालना नगरेको अवस्थामा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम आवश्यक नियमन गर्न सकिने जनाइएको छ।
एकाइको यस निर्देशनले विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा कानुनी दायित्व र पेसागत आचरणप्रति सचेत रहनुपर्ने सन्देश दिएको छ।
