काठमाडाैँ - सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा साइबर अपराध र बालविवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ३३ औं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा साइबर अपराध र बालविवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।
प्रहरीले स्थानीय सरस्वती माध्यमिक विद्यालयका मावि तहका विद्यार्थीहरुलाई लक्षित गरेर साइबर अपराध र बालविवाह विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रहरी निरीक्षक सविना लिम्बूले सहजीकरण तथा प्रशिक्षण दिएका थिए। साइबर अपराध र बालविवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखीकरण गरिएको थियो।
लिम्बूले विद्यार्थीहरुलाई प्रशिक्षण दिदैँ साइबर अपराध त्यस्तो प्रकृतिको अपराध हो जसले कम्प्युटर वा विद्युतीय उपकरणलाई माध्यम बनाई वा अर्काको कम्प्युटरमा अनधिकृत पहुँच स्थापित गरी आपराधिक मानसिकताबाट अरुलाई दुःख दिने वा हानी नोक्सानी पुर्याउने एउटा सामाजिक अपराध भएको जानकारी दिए।
कार्यक्रममा सहभागी बालबालिका स्वयंले बालबविवाहका कारण परेको असरहरुको बारेमा उदाहरण प्रस्तुत गर्दै बालविवाह नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक लिम्बूले विद्यालयमा बालविवाहको अवस्थाको बारेमा छलफल र जानकारी दिएका थिए।
सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति निवर्तमान अध्यक्ष जयकृष्ण यादवले विद्यालयमा प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमले बालबालिकामा ज्ञान र चेतना वृद्धि भएको भन्दै धन्यवाद प्रकट गरेका थिए।
आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको. कारण बालविवाह भइरहेको भन्दै उहाँले बालविवाह न्यूनीकरणका लागि स्वयं बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताए।
कार्यक्रममा विद्यालयको कक्षा ८ देखि १२ सम्मका अध्ययनरत विद्यार्थी, शिक्षकहरुको सहभागिता थियो। कार्यक्रम प्रधानाध्यापक तेजनारायण यादवको अध्यक्षता तथा समितिका जयकृष्ण यादवको विशेष आतिथ्यमा सम्पन्न भएको थियो।