काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षकहरूबीच ९ बुँदे सहमति भएको छ।
बैठकमा शिक्षक आन्दोलन रोक्ने सहमति भएको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए।
सो सहमति बोकेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका हुन्।
"वार्ता सकारात्मक भएको छ, शिक्षक आन्दोलन रोक्ने सहमति भएको छ," उनले भने।
सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई गर्न मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेेको हो।
सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।
‘आम शैक्षिक हड्ताल स्थिगित भएको छ। नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने।
२० चैतदेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो।
यस्ता छन् नौ बुँदा
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
२. अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी रकरार साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ता) को बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने।
३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने।
४. आगामी आव २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने।
५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा .राहत, अस्थायी/करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा)का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।
६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।
७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।
८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
९.निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने।