काठमाडाैँ- नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद् र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)ले विराेध जनाएका छन्। सरकार र महासंघबीच भएकाे सहमतिमा आफूहरूको माग सम्बाेधन नभएपछी उनीहरू आक्राेशित भएका हुन्।
नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षक महासंघ आफूहरूको मागमा गम्भीर नदेखिएको आरोप लगाएको छ। उक्त सहमतिमा ईसीडी शिक्षकका पनि दुईवटा विषय मात्र समेटिएका छन् तर स्पष्ट व्याख्या छैन।
ईसीडी शिक्षकको अब बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्नेछन् तर ईसीडी शिक्षकको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने सहमतिमा भनिएकाे छ। यसले उनीहरूकाे पारिश्रमिक कति हुने भन्ने स्पष्ट छैन। जसले गर्दा उनीहरू आक्राेशित भएका हुन्।
महासंघले कमर्चारीको वियषमा जानकारी नै नगरी सहमति गरेको परिषद् अध्यक्ष गंगाराम तिवारीले आरोप लगाए।
शिक्षकहरूले आफूहरूलाई पीडित बनाएको उनको आरोप छ। उनले भने, 'यो भयो यो भएन केही पनि भनेन महासंघले, आठ हजार तलब खाने कर्मचारीबारे ध्यान कहाँ गयो ?'
महासंघका पदाधिकारी राजनीतिक दलका नेता भएकाले आफ्नो माग पूरा नभएको उनको बुझाइ छ। अध्यक्ष तिवारीले कर्मचारीलाई सञ्चित बिरामी बिदाको सुविधा नदिएकोमा उनको आपत्ति छ।
'यसका विरुद्ध हामी आन्दोलनको घोषणा गर्दै छौँ,' उनले थपे, 'शुद्ध शिक्षकहरूका लागि मात्रै सेवासुविधा सुनिश्चित गरेको छ। यी बुँदामा आपत्ति छ।'
महासंघको दोस्रो चरणको २९ दिने सडक आन्दोलन बुधबार (वैशाख १७) सरकारसँगको सहमतिसहित स्थगन गरिएको थियो।
