काठमाडौँ - प्रधानाध्यापक संघ नेपाल (प्यान) ले 'दोस्रो राष्ट्रिय शिखर सम्मेलन २०८२' र 'प्यान अर्वाड २०८२' आयोजना गर्ने भएको छ। यस दोस्रो राष्ट्रिय सम्मेलन २०८२ जेष्ठ २३ र २४ गते पोखराको सभागृहमा आयोजना गर्ने भएको हो।
प्यानले प्रत्येक वर्ष फरक-फरक प्रदेशमा थीम आधारित राष्ट्रिय सम्मेलन आयोजना गर्दे आएको छ।यस सम्मेलनमा १ हजार प्रधानाध्यापक, शिक्षाविद, पालिका प्रमुखहरू, विदेशी प्रतिनिधिहरू लगाएतका नीति निर्माताहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्यानले 'प्यान अर्वाड २०८२' मा प्रत्येक प्रदेशबाट एक-एक आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालय, प्रत्येक प्रदेशबाट एक-एक जना आधारभूत र माध्यमिक तहका प्रधानाध्यापक, प्रत्येक प्रदेशबाट एक-एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, मुलुकभरबाट एक उत्कृष्ट महानगरपालिका वा उपमहानगरपालिकालाई अर्वाड प्रदान गर्न लागेकाे प्यानका अध्यक्ष सुदाम गौतमले जानकारी दिए। उनले शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला लगाएतको नेतृत्वले निष्पक्ष, स्वतन्त्र र मापदण्डमा आधारित रहेर छनोट गरेको जानकारी दिए।
उनले छनोट समितिले देशभरिका विद्यालय, पालिका तथा प्रधानाध्यापकहरूबाट अफलाइन आवेदन, प्राप्त सिफारिस, तथा समितिले संकलन गरेका विवरणहरूलाई आधार बनाई २५ वटा मापदण्डमा आधारित रहेर निर्णय गरेको बताए।
यस सञ्चालित कार्यक्रमहरूले प्रधानाध्यापकहरूलाई आत्मविश्वासी बनाउने, नेतृत्वमा नवीन दृष्टिकोण ल्याउने र सामुदायिक विद्यालयहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्य राखेको आयोजकले जनाएको छ।
