काठमाडाैँ - चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०२६ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ। आयोगले आइतबार जारी गरेको सूचनाअनुसार भदौ २ गते बिहान १० बजेदेखि भदौ २२ गते अपराह्न ५ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ। त्यस्तै, भदौ २२ पछि २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
प्रवेश परीक्षा कार्तिक १५ गतेदेखि १९ गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न केन्द्रमा सञ्चालन हुनेछ। परीक्षा केन्द्रहरू पछि प्रकाशित गरिने आयोगले जनाएको छ। पहिलो दिन कार्तिक १५ गते एमबीबीएस कार्यक्रमको परीक्षा हुनेछ। कार्तिक १६ गते बीडीएस, १७ गते बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफरी, बीएएसएलपी र बी पफ्र्युजन टेक्नोलोजीका परीक्षा हुनेछन्।
त्यस्तै, कार्तिक १८ गते बीएएमएस, बीएनएस/बीएमएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बि फार्मा, बीएस्सी रेडियोथेरापी र बी अप्टोमेट्रीका परीक्षा लिइने छन् भने कार्तिक १९ गते बीपीएचको परीक्षा हुनेछ।
आयोगका अनुसार प्रवेश परीक्षा सबै विषयमा २०० पूर्णाङ्कको हुनेछ र परीक्षा समयावधि ३ घण्टा तोकिएको छ। एउटाभन्दा बढी कार्यक्रमका लागि आवेदन दिन चाहने विद्यार्थीले तालिका नजुध्ने गरी मात्र आवेदन दिन सक्नेछन्। परीक्षाका लागि आवेदन शुल्क नेपाली विद्यार्थीका लागि ४ हजार रुपैयाँ र विदेशी विद्यार्थीका लागि ८ हजार रुपैयाँ तोकिएको छ।
सूचना