काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका व्यक्तिगत कागजात (अभिलेख) मा अनिवार्य रूपमा सिटरोल नम्बर उल्लेख गर्न निर्देशन दिएको छ।
किताबखानाले जारी गरेको सूचनाअनुसार शिक्षकको व्यक्तिगत तथा जागिर विवरण दर्ता भई सिटरोल नम्बर कायम भइसकेको अवस्थामा विद्यालय, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइहरूले शिक्षकको नियुक्ति, सरुवा, बढुवा, रमाना, हाजिरी तथा अन्य सबै व्यक्तिगत अभिलेख र सिफारिस पत्रमा सिटरोल नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
किताबखानाका अनुसार सिफारिस तथा बोधार्थ पत्रमा सिटरोल नम्बर उल्लेख नहुँदा एउटै नाम भएका शिक्षकबीच विवरण फरक पर्न सक्ने, अभिलेख अद्यावधिक गर्न कठिनाइ हुने तथा सेवा–सुविधा उपलब्ध गराउने प्रक्रियामा समस्या सिर्जना हुने देखिएको छ।
यसै कारण शिक्षकको अभिलेख व्यवस्थापनलाई व्यवस्थित, तथ्यांकलाई एकीकृत तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै सम्बन्धित निकायलाई सिटरोल नम्बर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिइएको राष्ट्रिय किताबखानाले जनाएको छ।
राष्ट्रिय किताबखानाले सम्बन्धित विद्यालय, स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ र शिक्षकहरूलाई व्यक्तिगत कागजातमा सिटरोल नम्बर अनिवार्य रूपमा उल्लेख गरी अभिलेख अद्यावधिक गर्न आग्रह गरेको छ।
