काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० ले शैक्षिक सत्र २०८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन, पुनर्योग तथा ग्रेडवृद्धि परीक्षासम्मका विभिन्न कार्यका लागि समयसीमा निर्धारण गरेको हो।
कार्यतालिकाअनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाइ तथा वितरण २०८३ असोज मसान्तसम्म गरिनेछ। कक्षा १० को रजिस्ट्रेसन तथा परीक्षा आवेदन फाराम विद्यालयमा भर्ने काम कात्तिक ८ गतेदेखि मंसिर १५ गतेसम्म हुनेछ। रजिस्ट्रेसन र परीक्षा आवेदन फाराम इन्ट्री तथा अभिलेखीकरण मंसिरको पहिलो वा दोस्रो सातामा गर्ने कार्यतालिका तय गरिएको छ।
त्यस्तै, २०८३ सालको कक्षा १० को आवेदन फाराम इन्ट्री मंसिर २५ गतेदेखि पुस मसान्तसम्म र कक्षा ९ को रजिस्ट्रेसन फाराम इन्ट्री पुस ९ गतेदेखि माघ मसान्तसम्म गरिनेछ।
बोर्डले मंसिरमा प्रश्नपत्र निर्माण कार्यशाला सञ्चालन गरी प्रश्नपत्र निर्माण तथा सङ्कलन गर्ने जनाएको छ। प्रश्नपत्र मोडरेसन र टाइपिङको काम पुस ९ गतेदेखि माघ १५ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका छ। परीक्षाको समयतालिका २०८३ माघको पहिलो सातामा प्रकाशन गरिनेछ भने प्रश्नपत्र छपाइ तथा ढुवानी माघको चौथो सातादेखि फागुन मसान्तसम्म गरिनेछ।
परीक्षा केन्द्र निर्धारण भने २०८३ पुस २५ गतेदेखि माघ १ गतेसम्म गरिनेछ। त्यसपछि परीक्षा केन्द्रको इन्ट्री तथा रुजु माघ मसान्तसम्म सम्पन्न गर्ने कार्यतालिका छ। कक्षा १० को सिम्बोल नम्बर प्रणालीबाट स्वतः कायम गर्ने काम माघको पहिलो सातामा गरिनेछ।
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८३ चैतको पहिलो वा दोस्रो सातादेखि सञ्चालन गर्ने बोर्डको कार्यतालिकामा उल्लेख छ। परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण तथा आन्तरिक प्रायोगिक अंक इन्ट्री र अभिलेखीकरण चैत मसान्तसम्म गर्ने लक्ष्य राखिएको छ। उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गरी परीक्षा नियन्त्रण कार्यालयसम्म ल्याउने काम चैत २५ गतेदेखि २०८४ वैशाख २० गतेसम्म सम्पन्न गरिनेछ।
बोर्डले SEE को नतिजा २०८४ जेठको दोस्रो साताभित्र प्रकाशन गर्ने लक्ष्य राखेको छ। नतिजाप्रति चित्त नबुझेका विद्यार्थीका लागि पुनर्योगको निवेदन नतिजा प्रकाशन भएको सात दिनभित्र दिन सकिनेछ। पुनर्योगको नतिजा भने निवेदन दिने म्याद समाप्त भएको मितिले सात दिनभित्र प्रकाशन गर्ने कार्यतालिका छ।
यसैगरी, ग्रेडवृद्धि परीक्षा २०८४ साउनको पहिलो सातादेखि सञ्चालन गर्ने र त्यसको नतिजा २०८४ भदौको दोस्रो साताभित्र प्रकाशन गर्ने बोर्डले जनाएको छ।
बोर्डले शैक्षिक सत्र २०८३ को SEE लाई निर्धारित कार्यतालिकाअनुसार सञ्चालन गर्न सम्बन्धित शाखा, विद्यालय तथा निकायलाई जिम्मेवारीसमेत तोकेको जनाएकाेछ।

