काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (ECAN) को २०औँ वार्षिक साधारण सभा आगामी २०८२ साल पुस २८ गते सोमबार काठमाडौँमा आयोजना हुने भएको छ। विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाइ शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका परामर्श दातृहरूकाे छातासँगठन इक्यानको पुस ९ गते बसेकाे कार्यसमितिको बैठकबाट निर्णय भई साधारण सभा बोलाइएको हो।
सूचनाअनुसार साधारण सभा बिहान ८ बजे एलिस रिसेप्सन, गैह्रिधारा, काठमाडौँमा सुरु हुनेछ। साधारण सभामा महासचिवद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखा परीक्षक नियुक्ति, केन्द्रीय कार्यसमितिको चयनलगायतका विषयमा छलफल गरी पारित गरिने इक्यानले जनाएकाे छ।
ECAN ले आर्थिक वर्ष २०८२/०८३ का लागि सदस्यता नवीकरण गराएका सदस्यहरू मात्र साधारण सभामा सहभागी हुन पाउने जनाएको छ। सहभागी हुनका लागि सदस्यता नवीकरण गर्ने अन्तिम मिति पुस १८ गते कार्यालय समय भित्र तोकिएको छ।
साथै, साधारण सभामा सहभागी हुन साधारण सदस्य कम्पनीहरूले आफ्ना आधिकारिक प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था गरिएको छ। नवीकरण भएका कम्पनीहरूले चयन गरेका आधिकारिक प्रतिनिधिहरू मात्र सभामा सहभागी हुन सक्ने ECAN ले स्पष्ट पारेको छ।
केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम संघको सूचना पाटीमा प्रकाशन गरिने र साधारण सदस्यहरूलाई इमेलमार्फत जानकारी गराइने जनाइएको छ। थप जानकारीका लागि ECAN को केन्द्रीय कार्यालय, ढिल्लीबजारमा सम्पर्क गर्न महासचिव दीपक राज भुसालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।