काठमाडौँ - त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गले शैक्षिक सत्र २०८२ का लागि विभिन्न विदेशी भाषाका कक्षामा नयाँ विद्यार्थी भर्ना खुला गरेको छ।
क्याम्पसका अनुसार कक्षा माघ १९ गतेदेखि सञ्चालन हुने र चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानीज, रसियन, इटालियन, कोरियन, अरबी, हिन्दि, प्रारम्भिक अंग्रेजी तथा अंग्रेजी लेखन विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन फाराम खुला गरिएको हो।
तोकिएको समयभित्र आवेदन फाराम भरी क्याम्पसले प्रकाशित सूचना अनुसार भर्ना प्रक्रिया पूरा गर्नुपर्ने क्याम्पसले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको निर्णयअनुसार तोकिएको समयबाहेक अन्य समयमा भर्ना नलिइने स्पष्ट गरिएको छ।फाराम लिने र बुझाउने मिति पुष २३ गतेदेखि माघ ०७ गतेसम्म रहेको छ। फाराम वितरण समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ।
शैक्षिक योग्यताअन्तर्गत अंग्रेजी लेखन बाहेक अन्य सबै भाषाका लागि एसएलसी वा एसईईमा कम्तीमा ‘C’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ। अंग्रेजी लेखन विषयका लागि भने स्नातक वा सो सरह उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ।आवेदन फाराम दर्ता गर्दा अनिवार्य रूपमा सक्कल प्रमाणपत्र देखाई प्रतिलिपि बुझाउनुपर्नेछ। दोस्रोदेखि छैटौँ सेमेस्टरसम्मको भर्ना माघ १८ गतेदेखि माघ २५ गतेसम्म हुने जनाइएको छ।
यसैगरी लेभल टेस्टका लागि फाराम वितरण माघ ४ गतेदेखि ८ गतेसम्म हुनेछ भने परीक्षा माघ १३ गते सञ्चालन गरिने क्याम्पसले जानकारी दिएको छ।अंग्रेजी र नेपाली भाषा बाहेक अन्य भाषाका लागि शिक्षक आवश्यक भएकाले इच्छुक योग्य व्यक्तिहरूलाई क्याम्पस प्रशासनमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
सूचना :
