भक्तपुर- नेपाल शिक्षक महासंघले आफ्नो तेस्रो राष्ट्रिय परिषद् आगामी साउन २ र ३ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। महासंघको असार ४ गते सम्पन्न विस्तारित बैठकले परिषद् आयोजना गर्ने निर्णय गर्दै देशभरका जिल्ला समितिलाई आवश्यक तयारी तथा सहभागिताका लागि निर्देशन दिएको छ।
महासंघद्वारा जारी परिपत्रअनुसार राष्ट्रिय परिषद्मा वर्तमान शैक्षिक अवस्था, शिक्षक तथा कर्मचारीहरूको भावना र आवश्यकता सम्बोधन गर्ने गरी महासंघको विधान संशोधनसमेत गरिनेछ। यसका लागि जिल्ला समिति तथा आबद्ध संस्थाहरूबाट आवश्यक सुझाव राष्ट्रिय समितिमा पठाउन आग्रह गरिएको छ।
परिपत्रमा राष्ट्रिय परिषद्मा सहभागिताका लागि सबै जिल्लाले अनिवार्य रूपमा जिल्ला परिषद् सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। साथै, केन्द्रबाट तोकिएका प्रतिनिधिलाई जिल्ला परिषद्मा सहभागी गराउन र विधानअनुसारको शुल्क केन्द्रमा पठाउनसमेत निर्देशन दिइएको छ।
महासंघले हालसम्म जिल्ला समिति गठन हुन बाँकी रहेका जिल्लाहरूमा तत्काल समिति गठन प्रक्रिया सम्पन्न गर्न तथा केन्द्रबाट खटाइएका प्रतिनिधिसँग समन्वय गरी काम अघि बढाउन आग्रह गरेको छ। समिति गठनका क्रममा देखिएका विवाद तथा असहमतिका विषयमा राष्ट्रिय समितिबाट खटिएका प्रतिनिधिले आवश्यक पहल गरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
यसैबीच, महासंघले विद्यालय कर्मचारी तथा संघीय सिकाइ अनुदान शिक्षकहरूले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सबै जिल्ला समितिलाई आन्दोलनको समर्थन गर्न निर्देशन दिएको छ। जिल्लास्तरमा शिक्षक तथा कर्मचारीसँग सम्बन्धित विशेष समस्या भए लिखित रूपमा राष्ट्रिय समितिमा जानकारी गराउन पनि महासंघले आग्रह गरेको छ। राष्ट्रिय परिषद्को अवसरमा स्मारिका प्रकाशन गरिने भएकाले जिल्लाका सांगठनिक गतिविधि तथा जिल्ला समितिको अद्यावधिक नामावली केन्द्रमा पठाउन अनुरोध गरिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित परिपत्रको बोधार्थ सबै आबद्ध तथा सम्बद्ध संस्थाका संघीय, राष्ट्रिय तथा केन्द्रीय समितिहरूलाई समेत पठाइएको छ।


