काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक शिक्षा प्रणालीलाई समयको आवश्यकता र बदलिँदो परिवेशअनुसार आमूल रूपान्तरण गर्न सरकारसहित सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
आफूले अध्ययन गरेको गोरखास्थित अमर ज्योति जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समाजद्वारा प्रकाशित स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै उनले सार्वजनिक शिक्षाको गुणस्तर सुधार र विद्यालय शिक्षाको सामाजिक भूमिकाबारे धारणा राखेका हुन्।
डा. भट्टराईले विद्यालय शिक्षा केवल ज्ञान र सीप हासिल गर्ने माध्यम मात्र नभई नैतिकवान, दक्ष र जिम्मेवार नागरिक निर्माण गर्ने आधार भएको बताए। विद्यालयले विद्यार्थीलाई शैक्षिक ज्ञान प्रदान गर्नुका साथै नैतिकता, चरित्र र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्ने उनको भनाइ थियो।
उनले समयसँगै समाजका आवश्यकता, प्रविधि र चुनौतीहरू परिवर्तन भइरहेकाले सार्वजनिक शिक्षा प्रणाली पनि सोहीअनुसार परिमार्जन र रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
सार्वजनिक शिक्षाको सुधार कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले सरकार, शैक्षिक संस्था, शिक्षक, अभिभावक र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा अमर ज्योति जनता माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूबीच पुनर्मिलनसमेत भएको थियो। सहभागीहरूले विद्यालय जीवनका अनुभव र स्मरणहरू साटासाट गर्दै सार्वजनिक शिक्षाको वर्तमान अवस्था, गुणस्तर र सुधारका सम्भावनाबारे विचार आदानप्रदान गरेका थिए।
पूर्वविद्यार्थी समाजद्वारा प्रकाशित स्मारिकाको लोकार्पणसँगै सम्पन्न कार्यक्रमले विद्यालयसँग जोडिएका पुराना सम्बन्धलाई पुनः ताजा बनाउनुका साथै सार्वजनिक शिक्षा सुधार र रूपान्तरणबारे बहस गर्ने अवसर प्रदान गरेको थियो।