काठमाडाैँ - नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले आचारसंहिताको भावना र मापदण्ड विपरीत विज्ञापन नगर्न शैक्षिक परामर्श सेवा क्षेत्रमा संलग्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेकाे छ। ईक्यानले सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमहरूमा सार्वजनिक भइरहेका केही झुटा शैक्षिक विज्ञापन तथा सामग्रीहरू प्रति आपत्ती जनाएकाे हाे।
नेपाल शैक्षिक परामर्श सेवा सम्बन्धी आचारसंहिताको भावना र मापदण्ड विपरीत देखिएकाे भन्दै यस्ता सामग्रीहरूले विद्यार्थीहरूमा भ्रम सिर्जना गर्नुका साथै सम्पूर्ण शैक्षिक परामर्श पेशाको प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने खतरा रहेको ईक्यानले जनाएकाे छ।
ईक्यानले नैतिकता, पारदर्शिता र उत्तरदायित्वसहित सञ्चालन गर्नु सबै सरोकारवालाहरूको साझा कर्तव्य रहेकाेले यस्ता भ्रामक विज्ञापन नर्गन आग्रह गरेकाे छ। ईक्यानले Visa, I-20, Admission, Job वा Scholarship को ग्यारेन्टी दिने दाबी, ‘निशुल्क सेवा’ को नाममा पछि शुल्क असुल्ने भ्रामक अभ्यास, भय, भ्रम वा झूटा आशा सिर्जना गर्ने किसिमका सन्देश, शिक्षासँग असम्बन्धित, अतिरञ्जित वा गैर पेशागत सामग्री र 'No financial need', 'Easy PR' जस्ता गैरजिम्मेवार शब्दहरूको प्रयोग गरी निषेधित विज्ञापन नर्गन चेतावनी दिएकाे हाे।
यसरी गैरकानुनी, अनैतिक तथा आचारसंहिता विपरितकाे विज्ञापन प्रमाणित भएमा ईक्यानले नियामक निकायहरूसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएकाे छ।
संघले सबै संस्था, परामर्शदाता तथा सरोकारवालालाई आचारसंहिता र विज्ञापन मापदण्डहरूको कडाइका साथ पालना गर्न आग्रह गरेकाे छ।