काठमाडाैँ- अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई अध्ययन अवधिमासँगै अस्ट्रेलिया लैजान पाउने व्यवस्थामा कडाइ गर्ने भएको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले अन्तर्राष्ट्रिय विद्यार्थी तथा ग्राजुएट भिसामा परिवारका सदस्यलाई स्वतः जोडेर अस्ट्रेलिया ल्याउने व्यवस्था हटाउने घोषणा गरेका छन्।
हाल अन्तर्राष्ट्रिय विद्यार्थीले निश्चित सर्त पूरा गरी आफ्नो श्रीमान् वा श्रीमती तथा आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान सक्ने व्यवस्था छ। विद्यार्थीका साथमा आउने परिवारका सदस्यका लागि स्वास्थ्य बीमा, आर्थिक क्षमता तथा अन्य आवश्यक प्रमाणसमेत प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
तर अस्ट्रेलिया सरकारले अब अधिकांश विद्यार्थी भिसामा दोस्रो आवेदक अर्थात् परिवारका सदस्य थप्ने व्यवस्था रोक्ने जनाएको छ। गृहमन्त्री बर्कका अनुसार नयाँ व्यवस्थाले विदेशबाट विद्यार्थीका परिवारका सदस्यलाई विद्यार्थीको भिसासँगै स्वतः अस्ट्रेलिया आउने सुविधा अन्त्य गर्नेछ।
केही विद्यार्थीलाई भने अपवाद
सरकारले सबै विद्यार्थीका लागि समान रूपमा पूर्ण प्रतिबन्ध लगाउने भने छैन। प्रशान्त क्षेत्र तथा आसियान मुलुकका नागरिक र केही विशेष अध्ययन कार्यक्रम, विशेषगरी पीएचडीजस्ता उच्च तहका पाठ्यक्रममा अध्ययन गर्ने विद्यार्थीका परिवारका लागि भने विशेष व्यवस्था कायम रहने गृहमन्त्री बर्कले बताएका छन्।
यसअघि नै परिवारका सदस्यसहित अस्ट्रेलियामा रहेका विद्यार्थीको हकमा भने नयाँ नियमले परिवार छुट्याउने व्यवस्था नगर्ने सरकारले स्पष्ट पारेको छ। उनीहरू हालको व्यवस्थाअनुसार आफ्नो भिसा अवधिसम्म अस्ट्रेलियामा रहन सक्नेछन्, अन्य योग्यताका आधारमा स्थायी भिसा पाएमा त्यसअनुसार अघि बढ्न सक्नेछन्।
विद्यार्थी र ग्राजुएट भिसामा पनि कडाइ
परिवार ल्याउने व्यवस्थासँगै अस्ट्रेलियाले विद्यार्थी भिसाको दुरुपयोग रोक्न थप कडाइ गर्ने योजना अघि सारेको छ। सरकारले एउटा अस्थायी भिसाबाट अर्को भिसामा गएर अनावश्यक रूपमा बसाइ लम्ब्याउने प्रवृत्तिलाई नियन्त्रण गर्ने जनाएको छ।
सरकारले नयाँ आप्रवासन सुधारअन्तर्गत विद्यार्थी भिसा प्रणालीको अखण्डता कायम गर्ने, भिसा अवधि सकिएपछि पनि बसिरहने व्यक्तिमाथि निगरानी बढाउने तथा आगमन र बसाइलाई थप व्यवस्थित गर्ने योजना सार्वजनिक गरेको छ।
अस्ट्रेलिया सरकारले चालु आर्थिक वर्षमा शुद्ध वैदेशिक आप्रवासन २ लाख ४५ हजारमा र सन् २०२७–२८ मा २ लाख २५ हजारमा सीमित गर्ने प्रक्षेपणअनुसार नीतिगत परिवर्तन अघि बढाएको जनाएको छ।
यसको प्रत्यक्ष असर अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जाने अन्तर्राष्ट्रिय विद्यार्थी, विशेषगरी अध्ययनसँगै श्रीमान्–श्रीमती तथा सन्तान लैजाने योजना बनाएका विद्यार्थीमा पर्न सक्नेछ। नयाँ व्यवस्था कार्यान्वयनका क्रममा कुन भिसा र कुन पाठ्यक्रममा कस्ता अपवाद लागू हुन्छन् भन्ने विषय थप स्पष्ट गरिने अपेक्षा छ।
स्रोत: अस्ट्रेलियाको गृह मामिला मन्त्रालय तथा द गार्जियन।