काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा भाषा परीक्षण सञ्चालन गर्न चाहने संस्थाका लागि अनलाइन आवेदन खुलाएको छ।
मन्त्रालयको शैक्षिक परामर्श, प्रमाणीकरण तथा छात्रवृत्ति शाखाले सूचना जारी गर्दै सम्बन्धित संस्थालाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको हो।
शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ बमोजिम प्रदेश सरकार वा स्थानीय तहबाट अनुमति प्राप्त संस्थाले २०८३ असोज २५ गतेभित्र आवेदन दिनुपर्नेछ। अन्य संस्थाका हकमा भने सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाइन आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ।
आवेदनका लागि कम्पनी दर्ता प्रमाणपत्र, भ्याट वा प्यान प्रमाणपत्र, कम्पनी अद्यावधिक तथा करचुक्ता प्रमाणपत्र, शैक्षिक परामर्श सेवाका लागि स्नातक उत्तीर्ण तथा तालिम प्राप्त जनशक्तिको नियुक्तिसहितका कागजात पेश गर्नुपर्नेछ।
त्यस्तै, भाषा परीक्षण सञ्चालनका लागि सम्बन्धित भाषा परीक्षणको अधिकार प्राप्त निकायको अनुमतिपत्र, सम्बन्धित देशको कूटनीतिक निकायको सिफारिस तथा प्रशिक्षकको योग्यता र तालिमसम्बन्धी प्रमाणपत्र आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयमा यसअघि नै निवेदन दिएर निर्णयको पर्खाइमा रहेका संस्थाले पोर्टलमा ‘Waiting for ministry decision’ छनोट गरी मन्त्रालयले दिएको स्लिप र बैंक भौचरसमेत अपलोड गर्नुपर्नेछ। प्रदेश वा स्थानीय तहबाट अनुमति प्राप्त संस्थाले ‘Province Approval’ छनोट गरी अनुमति वा स्वीकृति पत्र पेश गर्नुपर्नेछ।
नयाँ निवेदकले निवेदन दस्तुरबापत ५ हजार रुपैयाँ बुझाउनुपर्नेछ। उक्त रकम अनलाइन भुक्तानी प्रणालीमार्फत सरकारी भुक्तानीअन्तर्गत आन्तरिक राजस्वको भौचरबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले पहिलो पटक अनुमति माग गर्ने संस्थाले शाखा कार्यालयको अनुमति माग गर्न नपाउने तथा मन्त्रालयको निर्णय पर्खाइमा रहेका वा प्रदेश तथा स्थानीय तहबाट स्वीकृति पाएका संस्थाको नाम परिवर्तन गर्न नपाइने जनाएको छ।
आवेदनसम्बन्धी समस्या भएमा मन्त्रालयको सानोठिमीस्थित शाखामा सम्पर्क गर्न वा ०१–६६३०९०७ नम्बरमा फोन गर्न सकिने सूचनामा उल्लेख छ।

