काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा भाइरहेको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ। मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो।
देश अनुसार फरक-फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको छ। ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेका छन्। यो सँगै शिक्षा मन्त्रालयले छानबिन कार्यदल नैगठन गरेर अनुसन्धान सुरु भएको बताएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार छानबिन गर्न कार्यदल गठन गरिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ।मन्त्रालयका अनुसार शिक्षामन्त्री रघुजी पन्तले निश्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।अनियमितता भएको भेटिएमा कार्यदलले कारबाहीको लागि सिफारिस गर्ने छ।
छानबिन र अनुसन्धान कार्यदललाई एक महिनाको समय दिइएको छ। ‘विभिन्न सवाल उठेको छ। सेवाग्राहीबाट असुविधा भएको गुनासो आएका छन्। अध्ययन गर्न कार्यदल बनाइएको हो’, प्रवक्ता सापकोटाले भने।
कार्यदलले एनओसीमा भइरहेको विकृतिबारे अध्ययन अनुसन्धान गरेर नीतिगत सुधारको प्रस्ताव पनि गर्ने छ।
कार्यदलका संयोजक काप्रीले समितिले काम सुरु गरेको बताए। ‘कार्यदलले काम सुरु गरेको छ’, उनले भने, ‘अनियमितताको विषय पनि उठेको छ। कार्यदलले समग्र अध्ययन गर्छ।’