काठमाडौँ – कोरियालाई प्रमुख गन्तव्य बनाई शैक्षिक परामर्श व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुको छाता संगठन कोरिया शैक्षिक परामर्श संघ नेपाल (केइक्यान)ले व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन छलफल गर्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा केक्यानले असार १५ गते कोरियालाई प्रमुख गन्तव्य बनाई शैक्षिक परामर्श व्यवसाय संचालन गरिरहेका व्यवसायीसँग छलफल गर्न भएको हो। ‘मन्त्रालयको निमन्त्रणामा कोरिया शैक्षिक परामर्श व्यवसायी संघ नेपालसँग बसेको बैठक अनुरूप कोरिया शैक्षिक गन्तव्यलाई मर्यादित र व्यवस्थित गर्नका लागि मन्त्रालयले तलका बुँदाहरूमा कोरिया शैक्षिक व्यवसायी संघ नेपाललाई आफ्नो राय, सल्लाहसुझाव माग गरेको हुँदा उक्त विषयहरूमा निहित रही केक्यानका सम्पूर्ण सदस्यहरु र केक्यानबाहिर रही कोरियालाई प्रमुख गन्तव्य बनाई काम गरिरहनु भएका सम्पूर्ण परामर्श व्यवसायीहरूलाई तलका मिति, स्थान र समयमा आई आफ्नो राय, सल्लाहसुझाव राखीदिनहुन हार्दिक अनुरोध गर्दछौँ।’ केक्यानका अध्यक्ष विष्णु खड्काद्वारा जारी सूचनामा भनिएको छ।
छलफलका विषयहरुमा परामर्श व्यवसायीहरुले पठाउने विश्वविद्यालयहरुको सूची, परामर्श व्यवसायीहरुले लिने शुल्क तथा सेवाहरुको जानकारी, संगठनका सदस्यहरु तथा परामर्श व्यवसायीहरुले पालना गर्ने आचारसंहिता, परामर्श व्यवसायी, विद्यार्थी तथा अविभावक बिचको सम्झौता तथा त्यसको एकरुपता, परामर्श दिदा विद्यार्थीले पाउने सुचनाको हकमा पारदर्शिता, कोरिया शैक्षिक परामर्श व्यवसायी नेपाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल स्थित कोरियन राजदुतावास संगको त्रिपक्षीय सम्पर्क समिती गठन र व्यवस्थित आर्थिक कारोबार तथा बैंक प्रणाली लगायत रहेका छन्।
आगामी असार १५ गते अपरान्ह ४ बजे नेपाल हाउस, हात्तीसारमा छलफल आयोजना गरिएको केक्यानले जनाएको छ।