काठमाडाैँ - शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) र आन्तरिक राजस्व विभागको संयुक्त सहकार्यमा आयोजित चेतनामुलक 'व्यवसाय र कर' विषयक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रबार काठमाडौँ हात्तीसार स्थित नेपाल हाउसमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
व्यवसाय, लेखा प्रणाली र राज्यको कर प्रणालीबारे आफ्ना व्यवसायीलाई सम्पूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले आयाेजना गरिएकाे यस कार्यक्रमा शैक्षिक परामर्श व्यवसायीकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे। आन्तरिक राजस्व कार्यालय पुतलिसडकका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेको प्रमुख अतिथ्यता र चार्टर अकाउन्टेन्ट राजमणी पोखरेलको विशेष अतिथ्यतामा आयाेजना गरिएकाे कार्यक्रममा व्यवसायीले समग्र करप्रणालीबारे जानकारी पाएकाे र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने एप्क्यानका अध्यक्ष प्रज्वल बस्नेतले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय पुतलिसडकका प्रमुख कर अधिकृत पाण्डेले शैक्षिक परामर्श व्यवसायी मात्र नभई सम्पूर्ण लगानीकर्ता र व्यवसायीलाई कर र कानुनमा छुट नहुने बताए। उनले कन्सल्टेन्सी देश तथा विदेशका युवाहरुसँग प्रत्यक्ष रुपमा जोडिने संस्था भएकोले यस खालको कार्यक्रम आयोजना हुन आवश्यक रहेको बताए। उनले भने, 'कन्सलटेन्सी मात्र नभइ सबै सञ्चालित संस्था दर्ता हुन जरुरी छ। तर आजकाल व्यवसायीहरुले कानुन विपरित रहेर संस्था सञ्चालन गरिरहेको पाइन्छ। कर छल्ले, बिल लुकाउने, संस्था दर्ता नगर्ने, कर कार्यालयसँग जोडिन डराउने यी सबै कानुन विपरितका काम हुन्। अहिले पनि थुप्रै कन्सलटेन्सी दर्ता विहिन छन्। हामी छानबीन कै प्रकियामा छौँ।'
साथै चार्टर अकाउन्टेन्ट राजमणी पोखरेलले कुनै पनि संस्थामा अकाउन्टेन्ट छनोट गर्दा व्यवसायीक अकाउन्टेन्ट छनोट गर्नुपर्ने बताए। उनले भने ,'अकाउन्टेन्टले मालिकले भनेअनुरुप काम गर्ने होइन। उसको आफ्नो कार्यशैलि हुनुपर्दछ। कुनैपनि संस्थामा अकाउन्टेन्ट कानुन विपरित जान खोजेन भने संस्था पनि त्यहि अनुसार सञ्चालन हुन्छ।'

साथै कार्यक्रममा राजस्व कार्यालय पुतलिसडकका कर अधिकृत मनोज गिरीले व्यवसाय, लेखा प्रणाली र राज्यको कर प्रणाली बारे सम्पुर्ण जानकारी प्रोजेक्टर मार्फत प्रस्तुर गरेका थिए।
