काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्राप्त शैक्षिक परामर्श दातृ संस्थाहरूको सूचि सार्वजनिक गरेसँगै व्यवसायीले प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ दर्ता भएका कन्सल्टेन्सीहरूलाई पनि आधिकारिक मान्यता दिन शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन्।
शैक्षिक परामर्श दातृ संस्थाहरूकाे छातासंगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान), शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) लगायतले प्रदेश सरकारमा दर्ता भइ स्वीकृति प्राप्त कन्सल्टेन्सीहरू पूर्ण रूपमा वैधानिक र नियमअनुसार संचालन भइरहेकाले उनीहरूकाे नाम पनि एकत्रित गरि सार्वजनिक गर्न आग्रह गरेका हुन्।
शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले नविकरण भएका शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा सञ्चालन, तयारी कक्षा सञ्चालन तथा भाषा परीक्षण गर्न अनुमति दिएकाकाे मात्र सूचि सार्वजनिक गरेकाले अन्य सरकारकाे निकायमा नै दर्ता भइ सञ्चालनमा रहेका परामर्श दातृ संस्था अवैध हाेकी भन्ने भ्रम उत्पन्र भएकाले संघ र प्रदेशमा दर्ता भइ सञ्चालन भएका संस्थाकाे विवरण एकत्रित गरी सार्वजनिक गर्न एप्कानका महासचिव अनिल शर्मा पाैडेलले संस्थागत रूपमा नै शिक्षा मन्त्रालयलाई आग्रह गरेकाे बताए।
(इक्यान) ले सूचना जारी गर्दै भनेकाे छ, 'शिक्षा मन्त्रालयले अब प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ दर्ता भएका कन्सल्टेन्सीहरूलाई पनि आधिकारिक मान्यता दिनु आवश्यक छ। यसो गर्दा मात्र विद्यार्थी, अभिभावक र कन्सल्टेन्सीबीच स्पष्टता, विश्वास र विश्वसनीयता कायम रहन्छ। शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ७२० वटा शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी)हरू नवीकरण भएका देखिन्छन्। यो कदम स्वागतयोग्य छ। तर मन्त्रालयले यी सूचीमा रहेका संस्थाबाट मात्र परामर्श लिनुपर्ने सूचनाले केही भ्रम उत्पन्न गरेको छ। एकातिर लामो समयदेखि नयाँ संस्थाहरूको दर्ता प्रक्रिया स्थगित गरिएको छ भने, अर्कातिर प्रदेश सरकारले कानुनअनुसार दर्ता र स्वीकृति दिएका कन्सल्टेन्सीहरूको विवरण मन्त्रालयले पहिचान नगर्नुले नकारात्मक सन्देश जान सक्ने अवस्था सिर्जना गरेको छ।'

शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि संस्था नविकरण गर्न सूचना प्रकाशन गरे अनुसार नविकरण भएका शैक्षिक परामर्श संस्थाहरूको नामावली मंगलबार प्रकाशन गरेको थियाे।

प्रकाशित नामावलीमा कुनै पनि संस्थाको विवरण फरक पर्न गएमा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आफूले प्राप्त गरको नवीकरण पत्रको प्रतिलिपि सहित सूचना प्रकाशन गरिएको मितिले १५ दिन भित्रमा सूचना दिनु सकिने शाखा प्रमुख सेमन्तराज कोइरालाले जनाएका छन्।
शिक्षा मन्त्रालयमा नविकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूको नामावली