काठमाडाैँ- नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले गत आर्थिक वर्ष ०८१/८२ मा एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब बढीले विदेश पढ्न जाने नाममा पैसा विदेशिएकाे देखाएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै बाहिरिएको थियो।
त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट विदेश भ्रमण गर्न जानेले ८५ अर्ब २४ करोड रुपैयाँ विदेशमा खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भएर ८८ अर्ब ६६ करोड पुगेको तर, खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको राष्ट्र बैँकले जनाएको छ।
गत आर्थिक वर्षमा नेपालबाट विदेशमा अध्ययनका लागि हालसम्मकै उच्च संख्यामा विद्यार्थीले विदेश अध्ययन अनुमतिपत्र(एनओसी) लिएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शाखाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट विदेशमा अध्ययन गर्न जान १ लाख २३ हजार ५ सय ८९ जनाले एनओसी लिएका हुन्।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार ५९३ जना विद्यार्थीले एनओसी लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। त्यस्तै २०७९/८० मा एनओसी लिने विद्यार्थीको संख्या १ लाख १० हजार २ सय १७ जना रहेको थियो। त्यसैगरि आर्थिक वर्ष ०७८/७९ मा १ लाख १२ हजार ९६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए।
गत वर्ष ६४ देशमा अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको तथ्यांक छ। २०८१ साउनदेखि ०८२ असार मसान्तसम्म सबैभन्दा बढी जापानका लागि ३९ हजार ८ सय ४७ जनाले एनओसी लिएका छन्। यस अघि २०८०/८१ मा जापानका लागि ३४ हजार ७३१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएको शिक्षा मन्त्रालयले जनाएको छ।
जापानपछि नेपाली विद्यार्थीका आकर्षणमा क्रमशः बेलायत, अस्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, क्यानडा, लगायत देश परेको देखिन्छ। मन्त्रालयको तथ्यांक अनुसार जापानपछि अघिल्लो आर्थिक वर्ष वेलायतका लागि एनओसी लिनेको संख्या बढि रहेको छ। वेलायतका लागि २७ हजार ४ सय ७५ जनाले एनओसी लिएको तथ्यांक छ। यस अघि २०८०/०८१ मा बेलायत जान चाहने १३ हजार ३३९ जना विद्यार्थीले एनओसी लिएका थिए।
बेलायत पछि ०८२ असार मसान्त सम्मको एक वर्षको अवधिमा अस्ट्रेलियाका लागि १६ हजार २ सय ७९ जनाले एनओसी लिएका छन्। यस अघि २०८०/८१ मा अस्ट्रेलिया जान १४ हजार ३७२ जनाले एनओसी लिएका थिए। पछिल्लो समय दक्षिण कोरिया अध्ययनका लागि आर्कषक गनतव्य बन्दै गएको देखिन्छ। एनओसीको तथ्यांक हेर्दा असार मसान्तसम्ममा दक्षिण कोरियाका लागि ९ हजार ७ सय ५७ जनाले एनओसी लिएका थिए।
यस अघि कोरियाका लागि ६ हजार ८८९ जना विद्यार्थीले एनओसी लिएका थिए। अमेरिकाका लागि जम्मा ८ हजार ८७० जनाले असार मसान्तसम्म एनओसी लिएका थिए। जवकी अघिल्लो वर्ष ११ हजार २६१ जनाले अमेरिकाका लागि एनओसी लिएका थिए। त्यसै गरि क्यानडाका लागि एनओसी लिनेको संख्या १ हजार ८ सय ९४ रहेको छ।
अघिल्लो वर्ष क्यानडा अध्ययनमा जान १५ हजार ९८२ जना विद्यार्थीले एनओसी लिएका थिए। यसका अलावा भारत, यूएईमा उच्चशिक्षा अध्ययनका लागि जाने विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको छ। तथ्याकं अनुसार भारतका लागि ३ हजार ३ सय ९६, फ्रान्स १९ सय ७०, फिनल्याण्ड १८ सय ५३, न्युजिल्याण्डका लागि १६ सय ४४, जर्मनी ११ सय ९८, माल्टाका लागि १ हजार ५६ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयकाे एनओसी शाखाले जनाएको छ।