काठमाडौँ- नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन (नेराशिस)ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनद्वारा आइतबार जारी ध्यानाकर्षण पत्रलाई असंवैधानिक र ट्रेड युनियन स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गर्दै आपत्ति जनाएको छ।
संगठनले साेमबार विज्ञप्ति जारी गर्दै शिक्षक तथा कर्मचारी संगठनहरूको स्वतन्त्रता र अधिकारमाथि अंकुश लगाउने सरकारी प्रयासबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। उक्त ध्यानाकर्षण पत्रमा नेपाल शिक्षक महासंघ र त्यसका आवद्ध तथा सम्बद्ध संगठनहरूलाई राजनीतिक गतिविधिमा संलग्न भएको आरोप लगाइएको थियो। नेराशिसका अनुसार उक्त आरोप निराधार मात्र नभई नेपालको संविधान र अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताविपरीत छ।
विज्ञप्तिमा भनिएको छ,‘संविधानको धारा १७ ले प्रत्याभूत गरेको विचार, अभिव्यक्ति, संगठन र सभा स्वतन्त्रताको अधिकार र धारा ३४ ले सुनिश्चित गरेको ट्रेड युनियन अधिकारको यो उल्लंघन हो।’ साथै, नेपालले अनुमोदन गरेको अन्तर्राष्ट्रिय श्रम संगठनले पनि शिक्षकसहित सबै श्रमिकलाई स्वतन्त्र संगठन, सामूहिक वार्ता र सहभागिताको अधिकार सुनिश्चित गरेको संगठनले स्मरण गराएको छ।
नेराशिसले शिक्षामा देखिएका समस्या शिक्षक संगठनका कारण नभई शिक्षक दरबन्दी अभाव, न्यायोचित वितरण नहुनु, लगानीको कमी, सेवामा स्थायित्वको अभाव र पटकपटक भएका सम्झौता कार्यान्वयन नहुनुका कारण भएको स्पष्ट पारेको छ।
संगठनले स्थानीय तहहरूले शिक्षकहरूलाई सरुवा, घटुवा, अवकाश, प्रशासनिक कारबाही र तलब रोक्ने कार्यमार्फत आतंकित गरिरहेको आरोप लगाउँदै ती कार्यहरू शिक्षा ऐन र नियमावलीविपरीत भएको बताएको छ।
‘नेपाल राष्ट्रिय शिक्षक संगठन संविधान, लोकतन्त्र, गणतन्त्र, मानव अधिकार र गुणस्तरीय शिक्षाको रक्षाका लागि सदैव अग्रपंक्तिमा रहँदै आएको छ र आगामी दिनमा पनि रहिरहनेछ’ विज्ञप्तिमा भनिएको छ। संगठनले सरकार र सम्बन्धित निकायलाई शिक्षकहरूको राजनीतिक तथा ट्रेड युनियन अधिकारको सम्मान गर्न आग्रह गर्दै आवश्यक परे त्यसको रक्षाका लागि ‘जस्तोसुकै मूल्य चुकाउन तयार रहने’ चेतावनी दिएको छ।