काठमाडौँ - सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक चार महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरेर गाउँपालिकाको ढोकामा धर्नामा छन्। कात्तिक १८ गतेदेखि शिक्षकहरू धर्नामा बसेका हुन्।
‘गाउँपालिकाले तलब दिएको छैन। विद्यालय बन्द गरेर बिहान १० बजे धर्नाको लागि आउँछौँ। कार्यालय समय सकिएपछि फर्किन्छौं,’ संघर्ष समितिका संयोजक एवं रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक दुखन यादवले भने।
तलब नपाएपछि शिक्षक-कर्मचारीले गाउँपालिकामा तालाबन्दी गरेका छन्। तर संयोजक यादवका अनुसार अत्यवाश्यक सेवामा भने रोक लगाइएको छैन। ‘खोप लगाउने अभियान चलेको छ। रोकेका छैनौँ। अत्यवाश्यक बाहेक सबै सेवा ठप्प छ,’ उनले भने।
आन्दोलनमा पालिकाका १६ वटा विद्यालयका शिक्षक र कर्मचारीहरू छन्।‘२०० शिक्षक-कर्मचारी, वडा र स्वास्थ्य संस्थाका कर्मचारी पनि हुनुहुन्छ। सबै गरेर ३०० बढी धर्ना बसेका छौँ,’ यादवले भने।
शिक्षक-कर्मचारीले दशैँअघिदेखि नै आन्दोलन गरेका हुन्।तर जनप्रतनिधिले दशैँ सकिएको हप्ता दिनभित्र उपलब्ध गराउने भनेर सहमति गरेको थियो। पटकपटक सहमति गरेर पनि तलब नआएपछि विद्यालय बन्द गरेर धर्ना बस्नुपरेको शिक्षकहरूको गुनासो छ।
गत ९ असोजमा मा पनि शिक्षकहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए। ११ गते सहमति भएपछि ताला खोलेका थिए। ‘दशैं सकिएको एक हप्तापछि पनि तलब आएन। चाडपर्वमा पनि खल्लो भयो,’ उनले भने, ‘दशैंपछि पनि ज्ञापनपत्र बुझायौँ। तर तिहार र छठमा पनि तलब पाइएन।’
त्यसपछि तिहारअघि पनि कात्तिक १५ गतेसम्म तलब उपलब्ध गराउने सहमति भयो। तर सहमति कार्यान्वयन भएन।
‘कहिले सभा नभएको भनेर त कहिले प्रमुख प्रशासकीय अधिकृत नभएको भनेर जनप्रतिनिधिले तलब निकासा गरेको छैन,’ शिक्षक यादवले भने, ‘१५ गतेसम्म पनि तलब नआएपछि १६ गते फेरि ज्ञापनपत्र बुझायौँ। तर पनि निकासा भएन।’
गाउँपालिका प्रमुख, प्रदेश मुख्यमन्त्री र केन्द्रमा शिक्षामन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको तर माग सम्बोधन नभएको दुखेसो शिक्षकहरूको छ। ‘कतैबाट सम्बोधन नभएपछि धर्ना बस्न बाध्य भयौँ। हाजिर पनि धर्नामै गरेका छौँ। साउनदेखि तलब आएको छैन। भोको पेट कसरी काम गर्ने ?,’ संयोजक यादवले प्रश्न गर्दै भने, ‘एक/दुई महिना भए भए पनि कुर्न सकिन्थ्यो। साउनदेखि कुरेको कुर्यै भयौँ।’चन्दा संकलन गरी चिया नास्ता खाएर धर्ना बसिरहेको शिक्षकहरूको भनाइ छ।
गाउँपालिकामा जनप्रतनिधिको विवादले सभा बस्न सकेको छैन। सभा नबसेकाले शिक्षकले तलब नपाएको बताउँछन् गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी।
‘सभाले बजेट पास गरेको छैन। खाता सञ्चालन भएको छैन। बीचमा प्रमुख प्रशासकीय अधिकृत नभएकाले पनि हो। अहिले अधिकृत तोकिएर आउनुभएको छ। अब छिट्टै शिक्षकले तलब पाउनुहुन्छ,’ अध्यक्ष चौधरीले भने, ‘मिलाउने प्रयास भइरहेको छ।’
गत ५ असोजमा पालिका अध्यक्ष चौधरीले कार्यालयमै वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई मालिस गराएपछि विवादमा तानिएका थिए। त्यसपछि गत मंगलबार १८ कात्तिकमा अध्यक्ष चौधरीले पदबाट राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा पत्र सार्वजनिक भयो।तर अध्यक्ष चौधरी आफूले राजीनामा नदिएको बताउँछन्।
पालिकाको किचलोले पनि शिक्षकले तलब पाउन नसकेको बताउँछन् अध्यक्ष चौधरी।‘मैले राजीनामा दिएको छैन। राजीनामा नै नदिई कसरी स्वीकृत भयो ? म नै अचम्ममा परेको छु। यो कारणले पनि शिक्षकले तलब पाउन नसकेको हो,’ उनले भने।
शिक्षकले तलब नपाएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैँअघि नै तलब दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। मन्त्री पुनलाई ५०० बढी शिक्षकले तलब नपाएको गुनासो आएको थियो। धेरैजसो पालिकाहरूको सभा नबसेकाले शिक्षकले तलब नपाएको गुनासो मन्त्रालयमा आएको छ।
मन्त्रालयले पलिकालाई शिक्षकको तलब एकमुष्ट पठाउने गरेको छ।तर कुनै पालिकाले महिना महिनामै दिने गरेको छ। कुनैले नदिने गरेको पाइएको छ।