काठमाडाैँ - सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले तलबभत्ता पाउने भएका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीले तलबभत्ता निकासाको सहमति गाउँपालिकालाई दिएपछि ४ महिनादेखी रोकिएको तलबभत्ता शिक्षक कर्मचारीले पाउने भएका हुन्। कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधारीको अध्यक्षतामा कात्तिक २४ गते सम्पन्न विशेष परिषदबाट शिक्षक कर्मचारीलाई तलबभत्ता खुवाउने निर्णय गरिएको वडाध्यक्ष अशोक आचार्यले बताए।
परिषदको निर्णय अनुसार कार्यबाहक अध्यक्ष चौधारीले प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवलाई बजेट निकासाको अख्तियारी दिएपछि बिहीबार कोष तथा लेखा नियन्त्रक कार्यालयले गाँउपालिकाको खातामा बजेट निकासा दिएको उनले बताए। उनका अनुसार बिहीबारदेखि नै विद्यालय, स्वास्थ्य संस्थासहित कर्मचारीहरुको खातामा तलबभत्ता पठाउने कार्य सुरु गरिएको बताए।
निवर्तमान गाउँपालिका अध्यक्ष दिननाथ चौधारीले अख्तियारी नदिँदा तलबभत्ता निकासा हुन नसकेको जानकारी दिए। वडाध्यक्ष आचार्यले हामीले उहाँबाटै अख्तियारीका लागि निकै कोशिश गर्यौ, तर मान्नुभएन, अध्यक्षको राजीनामा पछि कार्यबाहक अध्यक्ष चौधरीले अख्तियारी दिनु भएपछि कर्मचारीहरूले तलबभत्ता पाउने सुनिश्चिता भयो।
गाउँपालिकाले पाँचदिन भित्र तलबभत्ता उपलब्ध गराउने आश्वासनपछि बुधबार ९ दिनदेखिको जारी आन्दोलन स्थगित गरिएको थियो।कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधारी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले आन्दोलनरत शिक्षक कर्मचारीलाई भेटेर पाँच दिन भित्र तलबभत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो।
यसैगरी,अध्यक्ष दिनानाथ चौधारीको राजीनामा स्वीकृत गरिएको बारे गाउँपालिकासहित विपक्षीलाई बिहीबार परमादेशयुक्त उत्प्रेषण जारी गरिएको छ। उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायधीश सुभाष पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो।यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने, माग बमोजिमका आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ।
निवेदकको माग अनुसार अन्तरिम आदेशका लागि दुबैपक्षका कुरा सुनि जारी हुने वा नहुने सम्बन्धमा निष्कर्षमा पुग्न मङ्सिर १ गते पेशी तोकिएको छ। निवेदकसँग सम्बन्धित निर्णयसहित सक्कलै प्रमाण कागज पत्र समेत छलफलमा उपस्थित हुन विपक्षीलाई आदेश गरिएको छ।