काठमाडाैँ- चीन पछिल्लो समय पूर्ण छात्रवृत्तिमा विदेशमा पढ्न चाहने नेपाली विद्यार्थीका लागि आकर्षक शैक्षिक गन्तव्य बनेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विभिन्न विषयमा छात्रवृत्ति काेटा निर्धारण गरी फारम खुलाएकाे हाे।
मन्त्रालयकाे सूचना अनुसार स्नातक, स्नातकाेतर र विद्यावारिधि (पीएचडी) तहका लागि आवेदन आह्वान गरिएको हाे।
जसअन्तर्गत स्नातक तहमा भेटेरिनरी साइन्समा १ जनाकाे काेटा निर्धारण गरिएकाे छ। यस्तै स्नातकाेतर र विद्यावारिधि (पीएचडी) तहका लागि टनेल इन्जिनियरिङ,बायोमेडिकल इन्जिनियरिङ,एयरोस्पेस इन्जिनियरिङ,साइबर/डाटा सेक्युरिटी,रोबोटिक इन्जिनियरिङ र फरेस्टि साइन्स विषयतर्फ खुला र महिला गरी प्रत्येक विषयमा २ जनाकाे लागि छात्रवृत्ति काेटा निर्धारण गरिएकाे छ। यस्तै सिड साइन्स एण्ड टेक्नाेलाेजी, रेल्वे इन्जिनियरिङ, जैव-सांख्यिकी, पोमोलोजी, एग्रीकल्चर इन्जिनियरिङ, भेटेरिनरी साइन्स, इन्टरनेशनल रिलेशन र एजुकेशन म्यानेजमेन्ट विषयतर्फ खुलामा प्रत्येक विषयमा १ जना गरी जम्मा २० जनाकाे लागि छात्रवृत्ति काेटा निर्धारण गरी फारम खुलाएकाे हाे।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार स्नातक तहका लागि २५ वर्ष, स्नातकोत्तर तहका लागि ३५ वर्ष, विद्यावारिधि तहका लागि ४५ वर्ष ननाघेकाे हुनुपर्नेछ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। आवेदन, छनोट प्रक्रिया र अन्य शर्तसम्बन्धी थप जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक सूचनामार्फत प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।
शैक्षिक संरचना, किफायती शुल्क, छात्रवृत्ति अवसर र अन्तर्राष्ट्रियस्तरको अध्यापनका कारण चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या निरन्तर बढ्दो छ। हालका तथ्याङ्कअनुसार करिब २,५०० नेपाली विद्यार्थी विभिन्न चिनियाँ विश्वविद्यालयमा अध्ययनरत छन्। चीन विश्वकै सबैभन्दा ठूलो राज्य-चालित शिक्षा प्रणाली हो। चीनको शिक्षा मन्त्रालयका तथ्याङ्क अनुसार हाल २९ करोडभन्दा बढी विद्यार्थी र १८ लाखभन्दा बढी शिक्षक यस प्रणालीमा संलग्न छन्। २०१८ मा मात्रै ४.९ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी चीनमा अध्ययनरत थिए। यसले चीनलाई विश्वका प्रमुख शैक्षिक केन्द्रहरूमध्ये एक बनाएको छ।
चिनियाँ सरकार, स्थानीय सरकार र विश्वविद्यालयस्तरबाट प्रदान गरिने छात्रवृत्ति पनि चीनमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि थप आकषर्क मानिन्छ। छात्रवृत्तिका कारण धेरै नेपाली विद्यार्थी सहज रूपमा स्नातकदेखि स्नातकोत्तरस्तरसम्म अध्ययन गर्न सक्षम भएका छन्।
तर, चीनमा अध्ययनका केही चुनौतिहरू पनि रहेका छन्। चिनियाँ भाषा (म्यान्डारिन) धेरै विषयमा अनिवार्य हुने भएकाले नेपाली विद्यार्थीका लागि भाषा मुख्य चुनौतीको रूपमा देखिन्छ। साथै, चीनले लागि दीर्घकालीन बसोबास वा काम अनुमति सहज रुपमा नद्याउने हुँदा धेरै विद्यार्थी अध्ययनपछि तेस्रो मुलुक वा स्वदेश फर्कने विकल्प रोज्ने गर्छन्।
चिनियाँ सरकारी तथ्याङ्क अनुसार, हरेक वर्ष हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरु भर्ना हुन्छन्। तर, धेरै देश-विशिष्ट सूचना (जस्तैः नेपालबाट कति विद्यार्थी, कस्ता पाठ्यक्रम पढ्न चिन जान्छन् भन्ने सार्वजनिक रूपमा उपलब्ध छैन। तर नेपालबाट वर्षेनी चिकित्सा शिक्षा, इन्जिनियरिङ, आईटी र व्यवस्थापन तर्फका विषय अध्ययन गर्न नेपाली विद्यार्थी जाने गरेका छन्।
विशेष गरी चीनमा चिनियाँ भाषामा अध्यापन हुने भएकाले अंग्रेजी-भाषामा पढिने पाठ्यक्रमहरु सीमित हुन सक्छन्। यो विद्यार्थीको योग्यता, विश्वविद्यालय र विषय अनुसार फरक-फरक हुन्छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक सूचना :



