काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई दर्ता नभएका तथा अवैध शैक्षिक परामर्श संस्थाबाट सेवा नलिन आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै विदेशी अध्ययनसम्बन्धी परामर्श सेवा प्रदान गर्ने संस्थाहरूले अनिवार्य रूपमा मन्त्रालयबाट अनुमति लिनुपर्ने स्पष्ट पारेको हो।
सूचनामा विदेशमा अध्ययनका लागि विद्यार्थीलाई भ्रममा पार्ने, झुटा आश्वासन दिने तथा अवैध रूपमा परामर्श सेवा प्रदान गर्ने गतिविधि बढ्दै गएको जनाउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। मन्त्रालयका अनुसार दर्ता तथा अनुमति नलिएका शैक्षिक परामर्श संस्थाबाट सेवा लिँदा विद्यार्थी ठगीमा पर्ने, अध्ययन अनुमति (भिसा) नपाउने वा भविष्यमा कानुनी समस्या उत्पन्न हुने जोखिम रहन्छ।
मन्त्रालयले शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने संस्थाहरूले शैक्षिक परामर्श व्यवस्थापनसम्बन्धी आचारसंहिता २०७१ को पूर्ण पालना गर्नुपर्ने जनाएको छ। साथै, कुनै पनि प्रकारका भ्रामक विज्ञापन, झुटा तथ्य प्रस्तुत गर्ने कार्य तथा अव्यवसायिक व्यवहार नगर्न कडाइका साथ निर्देशन दिएको छ।
मन्त्रालयले चीन, अष्ट्रेलिया, नर्वे, अमेरिका, बेलायत र आयरल्याण्डलगायत मुलुकका विश्वविद्यालय तथा शैक्षिक संस्थाको आधिकारिक मान्यता जाँच गर्न सम्बन्धित देशका सरकारी वेबसाइट प्रयोग गर्नसमेत सुझाव दिएको छ। यसले नक्कली विश्वविद्यालय, फर्जी कलेज तथा अवैध शैक्षिक प्रमाणपत्रबाट जोगिन सहयोग पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
विद्यार्थी र अभिभावकलाई कुनै शंका लागेमा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा सम्पर्क गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।
सूचना :

