काठमाडाैँ - लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइएको छ। गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा नेपाल पठाइएको हो।
युनिभर्सिटीले फि नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय) लाई अवगत गराएर उनको भिजा रद्द भएपछि पार्टटाइम कामसमेत गुमेपछि उनी संकटमा परेका थिए।घरबेटीले समेत कोठाबाट निकालिदिएपछि एक साता घरविहीन (होमलेस) भएर रेल स्टेशनमा बसिरहेका बेला उनले एनआरएनए यूकेलाई सहयोग याचना गर्दै सम्पर्क गरे। त्यसपछि एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी, विद्यार्थी विभागका संयोजक विष्णु भट्टराई र खेलकुद विभागका सहसंयोजक प्रमोद भण्डारीले उनलाई भेटी तीन दिनसम्म एक होटलमा राखिदिएर शनिबार नेपाल फर्कन सहयोग गरे।
एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी संघले परिवारसँग समन्वय गरेर उनलाई नेपाल फर्कन सक्दो मद्दत गरेको बताउँछन्। ‘अण्डरग्रयाजुएट विद्यार्थीलाई परिस्थिति निकै गाह्रो रहेछ। युनिभर्सिटीको महँगो फि तर जागिर नपाउने समस्याले म फर्कन बाध्य भएँ’, उनले भने, ‘राम्रो पढ्छु, कमाइ पनि होला भन्ने अपेक्षा थियो। तर, रियालिटी फरक रहेछ। नेपालका कन्सल्टेन्सीहरुले काम मज्जाले पाइन्छ भनेर ढाँटे, मेरो यहाँ बिजोक भयो।’
आदर्शले अण्डरग्रयाजुएट पढ्न नआउन, आएपनि मास्टर्स अध्ययनका लागि रिसर्च गरेरमात्र आउन सुझाएका छन्। ‘कन्सल्टेन्सीले त कमिशन आउँछ भनेर पठाइहाल्छन् तर विद्यार्थीले आउनु अगाडि आफैं रिसर्च गर्नु, युनी वरपर काम, कोठा पाइन्छ कि पाइँदैन् बुझेर मात्र आउनु नत्र मेरो जस्तो बेहाल हुन्छ’, उनले भने।
बेलायतमा ‘फ्रिडम’ ज्यादा हुँदा धेरै नेपाली विद्यार्थी कुलतमा लागेको उनको अनुभव छ। ‘मेरै रुम मेट साथीहरु समेत दुर्व्यसनमा परेका छन्। केटामात्र होइन्, केटी साथीहरु पनि बिग्रिएका छन्’, उनले भने।