काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि वर्तमान केन्द्रीय कार्यसमितिका सह-कोषाध्यक्ष विकल्पराज पोखरेलले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी पौष २८ गते सम्पन्न हुन लागेको निर्वाचनका लागि पोखरेलले दीपकराज भुषाल नेतृत्वको प्यानलबाट केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा काम गरेको अनुभवका साथै हाल सह-कोषाध्यक्ष तथा Training विभाग संयोजक को जिम्मेवारी सम्हाल्दै आएका पोखरेलले संस्थागत सुदृढीकरण, क्षमता विकास र आर्थिक अनुशासनमा योगदान पुर्याउँदै आएका छन्। पोखरेल लामो समयदेखि शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने अभियानमा सक्रिय छन्।
उनले इक्यानलाई व्यक्तिकेन्द्रित संस्था भन्दा सदस्य केन्द्रित, प्रणालीमा आधारित र भविष्यतर्फ उन्मुख संगठनको रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। साथै उनले इक्यानलाई पदाधिकारी मात्र नभई टीमवर्कमा विश्वास गर्ने, सुन्न सक्ने, समन्वय गर्न सक्ने र निर्णय कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक रहेको भन्दै आफ्नो उम्मेदवारी घोषणा गरेको दाबी गरेका छन्।
पोखरेलले आफु उपाध्यक्ष पदमा निर्वाचित भए अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिसँग सहकार्य गर्दै इक्यानलाई अझ बलियो, समावेशी र उत्तरदायी संस्थाको रूपमा विकास गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन्। 'केन्द्र र शाखाबीचको समन्वय मजबुत बनाउने, क्षमता विकासलाई प्राथमिकता दिने, आर्थिक पारदर्शिता कायम राख्ने र ७०० भन्दा बढी सदस्यहरूको व्यवसायिक सुरक्षा, सशक्तीकरण र हित लाई केन्द्रमा राखेर काम गर्नु मेरो प्रमुख प्रतिबद्धता हुनेछ।' पोखरेलले भने,'तपाईंहरूको विश्वास, साथ र अमूल्य मतको अपेक्षासहित इक्यानको साझा भविष्य निर्माणका लागि म यो जिम्मेवारी लिन तयार छु।'