काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काो आगामी २० औँ साधारणसभा एंव महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएको छ। अहिलेका अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल सकिएसँगै आगामी पुस २८ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि दुइवटा प्यानल बनाएर आंकाक्षी उम्मेद्वारहरू निर्वाचनमा होमिएका छन्। उम्मेद्वारी घोषणासँगै इक्यानमा अध्यक्ष उपाध्यक्ष लगायत पदाधिकारीमा चर्को प्रतिस्पर्धा हुने संकेत देखिएको हो।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन इकयानको नयाँ नेतृत्वका लागि अघिल्लो निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी विष्णुहरी पाण्डे प्यानलबाट निर्वाचित भएका इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू) र शेषराज भट्टराई नेतृत्वको प्यानलबाट महासचिवमा निर्वाचित भएका दीपकराज भूषालबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने देखिएको छ।
ईडीयू सवाल डटकमलाई प्राप्त स्रोतका आधारमा इक्यानमा मुख्य गरेर नेपाली कांग्रेस निकट व्यवसायीहरूको तर्फबाट साझा अध्यक्षको उम्मेद्वारको रूपमा एन्ड्रियू पौडेल र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुको साझा उम्मेद्वारको रुपमा भुषाल देखिएका छन्। त्यस्तै नेकपा एमाले निकट व्यवसायीहरूको संगठन प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)ले भने आफ्नो आधिकारिक उम्मेद्वार उठाएको छैन। पिक्यानका सदस्यहरुले अध्यक्षबाहेक अन्य पदमा सहकार्य गर्दै दुवै टीमबाट उम्मेद्वारी दिएका छन्।
एण्ड्रियू पौडेलको प्यानलबाट उपाध्यक्षमा अघिल्लो महाधिवेशमा महासचिवमा प्रतिस्पर्धा गरेका बासुदेव दाहाल, वर्तमान कार्यसमिति उपाध्यक्ष गिता सिवाकोटि र मिसन डक्टरका सञ्चालक पुष्पराज भट्टराईले उम्मेद्वारी दिने तयारी गरेका छन्। यस्तै भुषाल प्यानलबाट भने बर्तमान कार्यसमितिका सचिव रत्न बहादुर भट्टराई, सहकोषाध्यक्ष विकल्पराज पोखरेल, र केन्द्रीय सदस्य मन्जित ढकालले उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन्।
यस्तै महासचिवको दौडमा भुषाल प्यानलबाट वर्तमान कार्यसमितिका सचिव भवनाथ हुमागाई र पौडेल प्यानलबाट जीआइइसीका सञ्चालक नवराज केसीले उम्मेद्वारी दिने घाेषणा गरेका छन्। यस्तै सचिवको दौडमा भुषाल प्यानलबाट बर्तमान कार्यसमिति कोषाध्यक्ष आशकि कार्की, कार्यसमिति सदस्य सुरज शिलवाल उम्मेद्वार भएका छन् भने पौडेल प्यानलबाट भुपाल केसी र एलवि तामाङले उम्मेद्वारी घोषणा गरेका छन्।
यस्तै कोषाध्यक्षमा भुषाल प्यानलबाट उमा खड्का र पौडेल प्यानलबाट साधना पुडासैनीले उम्मेदवारी दिने घोषणा गरेका छन्। सहकोषाध्यक्षमा भुषाल प्यानलबाट गोविन्द खनाल र पौडेल प्यानलबाट शशिप्रसाद भट्टराई उम्मेद्वार हुने भएका छन्।
सदस्यहरूमा भुषाल प्यानलबाट नवराज नेपाल, दामाेदर शर्मा न्याैपाने, विवेक बस्नेत, अनन्त घिमिरे, असाेक हाथि, सञ्जिव पाण्डे, उद्दव वन, कमल तिमल्सिना, बसन्त पाण्डेले उम्मेद्वारी दिने भएका छन्। यस्तै पाैडेल प्यानलबाट भने सदस्यहरूकाे नाम टुंगाे लागिसकेकाे छैन।
यस्तै इक्यानको नयाँ कार्यसमितिका लागि अध्यक्ष सहित १८ पदका लागि प्रतिस्पर्धा हुनेछ। २१ जनाको कार्यसमिति रहने इक्यानमा २ जना सदस्य मनोनित गर्ने प्रावधान छ। सात सय भन्दा बढी व्यवसायीहरू आवद्ध रहेको इक्यानका देशभर आठओटा शाखा रहेका छन्।