काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न निर्वाचनमा वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य साधना पुडासैनी र उमा खड्का पाठकले कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। वर्तमान इक्यान कार्यसमिति सदस्यको जिम्मेवारीमा रहेकी उमा खड्का भुषाल प्यानलबाट र साधना पुडासैनीले पौडेल प्यानलबाट काेषाध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। यही पुस २८ गते हुने गरी चुनावी कार्यतालिका सार्वजनिक भएसँगै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा यतिवेला चुनावी सरगर्मी बढेको छ।
पौडेल प्यानलबाट उम्मेदवारी दिएकी पुडासैनीले 'सहि व्यक्ती सहि स्थान-भरोसायोग्य कोषाध्यक्ष' नारा सहित इक्यानको आर्थिक पारदर्शिता, अनुशासन र संस्थागत मजबुतीका लागि कोषाध्यक्ष पदमा उम्मेद्बारी प्रस्तुत गरेको उल्लेख गरेकी छन्। उनले उम्मेदवारी घोषणा गरेसँगै अनुभव, जिम्मेवारीबोध र स्पष्ट दृष्टिकोणका साथ इक्यानको कोष व्यबस्थापनलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
पुडासैनीले शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष संलग्न रहँदै एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा काम गरेको भन्दै संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व र आर्थिक अनुशासन कायम राख्न कोषाध्यक्षको रूपमा योगदान दिन तयार रहेको बताएकी छन्। उनले इक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल संस्थाको रूपमा अगाडि बढाउन सम्पूर्ण कार्यसमिति तथा आम सदस्यसँग सहकार्य गर्ने बताएकी छन्। उनले आगामी कार्यकालको लागि कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको भन्दै सम्पूर्ण इक्यानियनलाई आफूमाथि विश्वास गर्न आग्रह गर्दै साथ, सहयोग र अमूल्य मत प्रदान गर्न अपिल गरेकी छन्।
यस्तै भुषाल प्यानलकी उमा खड्काले संस्थाको आम्दानी र खर्चलाई नियमित तथा स्पष्ट रूपमा सदस्यहरूसमक्ष प्रस्तुत गर्ने, आर्थिक निर्णयहरूलाई नीतिगत तथा दीर्घकालीन सोचमा आधारित बनाउने र संघलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रमुख एजेण्डा रहेको दाबी गरेकी छन्। उनले पाठकले केन्द्र र शाखाबीचको आर्थिक समन्वयलाई सुदृढ बनाउने आवश्यकतामा जोड दिएकी छन्।
सदस्य-मैत्री आर्थिक नीति विकास गर्ने, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी सात सयभन्दा बढी सदस्यहरूको हित सुनिश्चित गर्ने तथा आर्थिक निर्णयमा समान पहुँच र स्पष्टता कायम गर्ने उनको लक्ष्य छ। उनले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई संस्थागत रूपमा विस्तार गर्दै ईक्यानलाई केवल आर्थिक रूपमा सक्षम मात्र नभइ विश्वसनीय, अनुशासित र सुशासनयुक्त संस्था बनाउने र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।
पाठकले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि ईक्यानको साझा भविष्य निर्माणसँग जोडिएको बताउदैँ अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशाका साथ संघलाई अझ सुदृढ बनाउने लक्ष्यसहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको उल्लेख गरेकी छन्।