काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि भिम बहादुर थापाले केन्द्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि लक्ष्मण पौडेल ‘एन्ड्रु’ नेतृत्वको प्यानलबाट सह-कोषाध्यक्ष दावेदारी प्रस्तुत गर्दै थापाले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गरेसँगै विगत एक दशकभन्दा बढी समयदेखि ईक्यानको साधारण सभा तथा निर्वाचन प्रक्रियाहरूलाई नजिकबाट नियाल्दै आएका कारण यसको मूल्य-मान्यता, पारदर्शिता तथा विधि-विधानप्रति सधैं उच्च सम्मान रहेको थापाले उल्लेख गरेका छन्।
आफूलाई केवल एक साधारण सदस्यका रूपमा मात्र सीमित नराखी, एक सक्रिय योगदानकर्ताका रूपमा अघि बढाउन सहकोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको थापाले बताए।
इक्यानको पारदर्शी आर्थिक व्यवस्थापन, केन्द्र–ब्रान्चबीच सुदृढ समन्वय र दिगो आय–स्रोत विकासमा इमान्दारी, उत्तरदायी र समर्पणका साथ कार्यभार पूरा गर्न आम इक्यानियनहरुले जिम्मेवारी दिनेछन् भन्ने थापाले विश्वास लिएका छन्।
उनले इक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल संस्थाको रूपमा अगाडि बढाउन पूर्ण इमानदारिता, जवाफदेहिता र लगनशीलताका साथ काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।
थापाले आगामी कार्यकालको लागि सहकोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको भन्दै सम्पूर्ण इक्यानियनलाई आफूमाथि विश्वास गर्न आग्रह गर्दै साथ, सहयोग र अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन्।