काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काे नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारकाे मनाेनयन दर्ता भएकाे छ। विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन इकयानको आगामी पुस २८ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्षमा महासचिव दीपकराज भूषाल र प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू)ले उम्मेद्वारी दर्ता गराएका छन्।
आगामी २० औँ साधारणसभा एंव महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएसँगै अध्यक्ष सहित १८ पदका लागि हुने निर्वाचनमा ३४ जनाले उम्मेद्वारी दिएका छन्। अहिलेका अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल सकिएसँगै आगामी पुस २८ गते हुने नयाँ नेतृत्वको निर्वाचन हुन लागेकाे हाे। निर्वाचनमा दुइवटा प्यानल बनाएर आंकाक्षी उम्मेद्वारहरू निर्वाचनमा होमिएका छन्। उम्मेद्वारी दर्तासँगै इक्यानमा अध्यक्ष उपाध्यक्ष लगायत पदाधिकारीमा चर्को प्रतिस्पर्धा हुने संकेत देखिएको हो।
६ जना उपाध्यक्षकाे पदमा सात जनाकाे उम्मेद्वारी परेकाे छ। उपाध्यक्षकाे उम्मेद्वारहरूमा बर्तमान कार्यसमितिका सचिव रत्न बहादुर भट्टराई, सहकोषाध्यक्ष विकल्पराज पोखरेल, राइटपाथ करिअर काउन्सिलिका सञ्चालक फिलिपकुमार डाँगी क्षेत्री, केन्द्रीय सदस्य मन्जित ढकाल, मिसन डक्टरका सञ्चालक पुष्पराज भट्टराई, प्राञ्जल एजुकेशनका सञ्चालक बासुदेव दाहाल र वर्तमान कार्यसमिति उपाध्यक्ष गिता सिवाकोटिले उम्मेद्वारी दर्ता गरेका छन्।
यस्तै महासचिवको लागि दुइ जनाकाे उम्मेद्वारी परेकाे छ। महासचिवकाे उम्मेद्वारी दिनेमा भुषाल प्यानलबाट वर्तमान कार्यसमितिका सचिव भवनाथ हुमागाई र पौडेल प्यानलबाट जीआइइसीका सञ्चालक नवराज केसी खत्रीले उम्मेद्वारी दर्ता गरेका छन्। यस्तै २ जना सचिवको लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन्। सचिवमा कार्यसमिति सदस्य सुरज शिलवाल, कोषाध्यक्ष आशकि कार्की, पौडेल प्यानलबाट भुपाल केसी र एलवि तामाङले उम्मेद्वारी दर्ता गरेका छन्।
यस्तै कोषाध्यक्षमा भुषाल प्यानलबाट उमा खड्का र पौडेल प्यानलबाट साधना पुडासैनीले उम्मेदवारी दर्ता गरेका छन्। सहकोषाध्यक्षमा भुषाल प्यानलबाट गोविन्द खनाल र पौडेल प्यानलबाट भिमबहादुर थापाले उम्मेद्वारी दर्ता गरेका छन्।
९ जना सदस्यहरूकाे पदमा १४ जनाकाे उम्मेद्वारी परेकाे छ। सदस्यकाे उम्मेद्वारहरूमा असाेक कुमार हाथि, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामाेदर शर्मा न्याैपाने, सञ्जिव पाण्डे, नवराज नेपाल, उद्दव वन, कमल प्रसाद तिमल्सिना, बसन्त पाण्डे, प्रभात पाैडेल, भेषराज राय, दिनेश पाैडेल, शिव प्रसाद अर्यालले उम्मेद्वारी दिएका छन्। शशिप्रसाद भट्टराइले भने उम्मेद्वारी दर्ता भएसँगै फिर्ता लिएका छन्।
ईडीयू सवाल डटकमलाई प्राप्त सूचनाका आधारमा इक्यानमा मुख्य गरेर नेपाली कांग्रेस निकट व्यवसायीहरूको तर्फबाट साझा अध्यक्षको उम्मेद्वारको रूपमा पौडेल र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुको साझा उम्मेद्वारको रुपमा भुषाल देखिएका छन्। त्यस्तै नेकपा एमाले निकट व्यवसायीहरूको संगठन प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)ले अध्यक्षमा उम्मेद्वारी नदिएपनि भुषाल प्यानलबाट उपाध्यक्ष, सचिव र ३ जना सदस्य सहित उम्मेद्वारी दिएकाे जनाएकाे छ। पिक्यानका अध्यक्ष बासु नेपालले अध्यक्षबाहेक अन्य पदमा पिक्यानले सहकार्य गर्दै भुषाल प्यानलबाट उम्मेद्वारी दिएकाे बताए।
नयाँ नेतृत्वका लागि अघिल्लो निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी विष्णुहरी पाण्डे प्यानलबाट निर्वाचित भएका इक्यानका प्रथम उपाध्यक्ष पौडेल र शेषराज भट्टराई नेतृत्वको प्यानलबाट महासचिवमा निर्वाचित भएका भूषालबीच अध्यक्षका लागि चर्काे प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेद्वारले बुधबारसम्म नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने निर्वाचन समितिका सदस्य हरिराम लामिछानेले बताए।
२१ जनाको कार्यसमिति रहने इक्यानमा २ जना सदस्य मनोनित गर्ने प्रावधान छ। सात सय भन्दा बढी व्यवसायीहरू आवद्ध रहेको इक्यानमा देशभर आठओटा शाखा रहेका छन्।
