काठमाडाैँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि कमल तिम्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। विगत २२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा निरन्तर, जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्दै आएका तिम्सिनाले पौष २८ गते सम्पन्न हुन गइरहेको इक्यानको २०औँ साधारण सभा अन्तर्गत हुने केन्द्रीय निर्वाचनका लागि सदस्य पदमा उम्मेद्वारी दिर्ता गरेका हुन्।
हाल ईक्यान पूर्वाञ्चल शाखाका सल्लाहकार, शाखाका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्षसमेत रहेका तिम्सिना केन्द्र र शाखाबीचको दूरी घटाउने उदेश्यका साथ उम्मेद्वारी घाेषणा गरेका हुन्। उनले केन्द्र र शाखाबीचको दूरी घटाउने तथा नीति निर्माण प्रक्रियामा शाखाहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्।
विद्यार्थी,अभिभावक र शैक्षिक परामर्श संस्थाबीच विश्वास र सहकार्यको वातावरण निर्माणमा उनले खेलेको भूमिकालाई यस क्षेत्रका सरोकारवालाहरूले उच्च मूल्याङ्कन गर्दै आएका छन्। शाखामा देखिने समस्या, चुनौती र आवाज केन्द्रसम्म प्रभावकारी रूपमा पुर्याउने तथा केन्द्रबाट निर्माण हुने नीति, अवसर र व्यावसायिक सम्भावनालाई देशभरका शाखासम्म विस्तार गर्ने समन्वयकारी भूमिकामा आफू दृढ रहेको उनले स्पष्ट पारे।
तिम्सिनाले नेपालमा शैक्षिक परामर्श व्यवसायलाई कानुनी, नैतिक र गुणस्तरीय ढाँचामा अघि बढाउन सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, आचारसंहिता कार्यान्वयन, नियमित तालिम तथा समयसापेक्ष नीतिगत दिशानिर्देशनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै अन्तर्राष्ट्रिय शैक्षिक बजारसँग समन्वय, विद्यार्थी हितको संरक्षण तथा शैक्षिक परामर्श व्यवसायको सामाजिक प्रतिष्ठा अभिवृद्धिका लागि सक्रिय पहल गर्ने उनले बताएका छन्।
विगत एक दशकभन्दा लामो समयदेखि ईक्यानका विभिन्न संरचनामा रहेर संस्थागत सुदृढीकरण, शाखा विस्तार, सदस्य समन्वय तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तिम्सिनाले यस कार्यकालमा पनि आफ्नो अनुभव, क्षमता र व्यावसायिक सञ्जाल प्रयोग गरी सङ्घलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
ईक्यानलाई सबै सदस्यको साझा, पारदर्शी र सशक्त संस्था बनाउने अभियानमा आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै उनले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सरोकारवालाबाट सहयोग, समर्थन र विश्वासको विनम्र आग्रह गरेका छन्।