काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काे नयाँ नेतृत्व चयनका लागि प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू)ले ४ जना सदस्यसहित सम्पूर्ण पदाधिकारीमा उम्मेद्वारी दिएका छन्। विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन इकयानको आगामी पुस २८ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्षमा पौडेलसहित १३ जनाले उम्मेद्वारी दिएका हुन्।
पाैडेलकाे प्रस्तावकमा पूर्व उपाध्यक्ष देविदास भट्टराइ र समर्थकमा बर्तमान उपाध्यक्ष गिता सिवाकाेटी रहेका छन्। पाैडेललाई नेपाली कांग्रेस निकट व्यवसायी र नेकपा एमालेकाे इतर पक्ष निकट व्यवसायीहरूकाे समर्थन रहेकाे छ। पाैडेललाई पूर्व अध्यक्षद्वय विष्णुहरी पाण्डे र दीपक गुरुङकाे पनि साथ रहेकाे छ।
पाैडेल नेतृवको प्यानलबाट उपाध्यक्षमा अघिल्लो महाधिवेशमा महासचिवमा प्रतिस्पर्धा गरेका बासुदेव दाहाल, वर्तमान कार्यसमिति उपाध्यक्ष गिता सिवाकोटि, मिसन डक्टरका सञ्चालक पुष्पराज भट्टराई र महासचिवमा जीआइइसीका सञ्चालक नवराज केसीले उम्मेद्वारी दर्ता गराएका छन्। सचिव पदमा पौडेल प्यानलबाट भुपाल केसी र एलवि तामाङ, कोषाध्यक्षमा साधना पुडासैनी र सहकोषाध्यक्षमा शशिप्रसाद भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै सदस्यमा भेषराज राय, दिनेश पाैडेल, प्रभात पाैडेल र शिव प्रसाद अर्यालले उम्मेद्वारी दर्ता गरेका छन्।
अहिलेका अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल सकिएसँगै आगामी पुस २८ गते हुने नयाँ नेतृत्वको निर्वाचन हुन लागेकाे हाे। आगामी २० औँ साधारणसभा एंव महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएसँगै अध्यक्ष सहित १८ पदका लागि हुने निर्वाचनमा ३४ जनाले उम्मेद्वारी दिएका छन्।
नयाँ नेतृत्वका लागि अघिल्लो निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी विष्णुहरी पाण्डे प्यानलबाट निर्वाचित भएका इक्यानका प्रथम उपाध्यक्ष पौडेल र शेषराज भट्टराई नेतृत्वको प्यानलबाट महासचिवमा निर्वाचित भएका भूषालबीच अध्यक्षका लागि चर्काे प्रतिस्पर्धा हुने देखिएको छ। सात सय भन्दा बढी व्यवसायीहरू आवद्ध रहेको इक्यानमा देशभर आठओटा शाखा रहेका छन्।