काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काे नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारकाे मनाेनयन दर्ता भएसँगै प्यानल पनि सार्वजनिक भएका छन्। विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन इकयानको आगामी पुस २८ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्षमा महासचिव दीपकराज भूषालले प्यानल बनाएरै चुनाैवी मैदानमा हाेमिएका हुन्।
भूषालकाे प्रस्तावकमा वर्तमान कार्यसमितिका अध्यक्ष शेषराज भट्टराई र समर्थकमा पूर्व अध्यक्ष प्रकाश पाण्डे रहेका छन्। भूषाललाई नेकपा, नेकपा एमालेकाे संस्थापन पक्ष निकट व्यवसायीकाे समर्थन रहेकाे छ।
भूषालको प्यानलबाट उपाध्यक्षमा बर्तमान कार्यसमितिका सचिव रत्न बहादुर भट्टराई, सहकोषाध्यक्ष विकल्पराज पोखरेल, केन्द्रीय सदस्य मन्जित ढकाल र महासचिवमा वर्तमान कार्यसमितिका सचिव भवनाथ हुमागाईले उम्मेद्वारी दिएका छन्।
सचिव पदमा भूषाल प्यानलबाट बर्तमान कार्यसमिति कोषाध्यक्ष आशकि कार्की, कार्यसमिति सदस्य सुरज शिलवाल र सहकोषाध्यक्षमा उमा खड्काले उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै सदस्यहरूमा नवराज नेपाल, दामाेदर शर्मा न्याैपाने, विवेक बस्नेत, अनन्त घिमिरे, असाेक हाथि, सञ्जिव पाण्डे, उद्दव वन, कमल तिमल्सिना, बसन्त पाण्डेले उम्मेद्वारी दिएका छन्।
अहिलेका अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल सकिएसँगै आगामी पुस २८ गते हुने नयाँ नेतृत्वको निर्वाचन हुन लागेकाे हाे। आगामी २० औँ साधारणसभा एंव महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएसँगै अध्यक्ष सहित १८ पदका लागि हुने निर्वाचनमा ३३ जनाले उम्मेद्वारी दिएका छन्।
नयाँ नेतृत्वका लागि अघिल्लो निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी विष्णुहरी पाण्डे प्यानलबाट निर्वाचित भएका इक्यानका प्रथम उपाध्यक्ष पौडेल र शेषराज भट्टराई नेतृत्वको प्यानलबाट महासचिवमा निर्वाचित भएका भूषालबीच अध्यक्षका लागि चर्काे प्रतिस्पर्धा हुने देखिएको छ। सात सय भन्दा बढी व्यवसायीहरू आवद्ध रहेको इक्यानमा देशभर आठओटा शाखा रहेका छन्।