काठमाडाैँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा रत्नबहादुर भट्टराईले उम्मेद्वारी दर्ता गरेसँगै उनलाई बलियाे दाबेदारकाे रूपमा हेरिएकाे छ। पुस २८ गते हुने २०औँ साधारणसभाका लागि भट्टराईले दीपकराज भुसालको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव सँगालेका भट्टराई बर्तमान इक्यानको कार्यसमितिका सचिव हुन्। संस्थाभित्र सुशासन र व्यावसायिकताका लागि उनले यसअघि विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेका छन्। भट्टराई यसअघि दुई कार्यकाल कार्यसमिति सदस्य रहँदा दुवै पटक अनुशासन विभागको संयोजकको जिम्मेवारीमा थिए।
संस्थाभित्र आन्तरिक व्यवस्थापन मजबुत बनाउने र सरकारसँग समन्वय सुदृढ गर्ने उद्देश्यले आन्तरिक मामिला विभाग गठन गर्ने पहल पनि उनकै नेतृत्वमा भएको थियो। सो विभागको संयोजकका रूपमा उनले नीतिगत पैरवीलाई संस्थागत रूप दिएका थिए। दुई कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल सचिवको अनुभवपछि भट्टराईलाई उपाध्यक्ष पदका लागि स्वाभाविक र सक्षम उम्मेदवारका रूपमा हेरिएको छ। देशभरका इक्यान सदस्यहरूको भरोसा र समर्थन आफूले पाउनेमा उनी आत्मविश्वासी देखिन्छन्।

नोबल एजुकेशन प्रालिका सञ्चालकसमेत रहेका भट्टराईले इक्यानलाई अझ सशक्त, सदस्य-केन्द्रित र व्यावसायिक संस्था बनाउने स्पष्ट दृष्टिकोण अघि सारेका छन्। संस्थाको गरिमा अभिवृद्धि, सदस्यहरूको हकहित संरक्षण तथा सरकारसँग प्रभावकारी समन्वय स्थापित गर्ने एजेन्डाले उनलाई उपाध्यक्ष पदको बलियो दावेदार बनाएको छ।
उनले राष्ट्रिय प्रहरी प्रतिष्ठान तथा नेपाल प्रहरीसँग मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रमहरूमा नजिकबाट सहकार्य गर्दै शैक्षिक परामर्श संस्था र म्यानपावर एजेन्सीबीचको स्पष्ट भिन्नता स्थापित गर्न वकालत समेत गरेका छन्। नेपालको शैक्षिक परामर्श क्षेत्रभित्र पेशागत क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएका भट्टराईले नो अब्जेक्सन सर्टिफिकेट (NOC) प्रणालीलाई म्यानुअल प्रक्रियाबाट अनलाइन प्रणालीमा रूपान्तरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
भट्टराईले अनुशासन विभागको प्रमुखको रूपमा सेवा गर्दै ECAN सदस्यहरू, विद्यार्थीहरू तथा अभिभावकहरूलाई विवाद समाधान, बजार नियमन र नियम अनुपालनसम्बन्धी विषयहरूमा सहयोग प्रदान गरेका छन्।