काठमाडौँ - नेपालमा सञ्चालित जापानीज भाषा स्कुलहरूको छातासँगठन जालसानको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। जालसानले काठमाडाैँ सुकेधारा हाइटस्थित मर्क्यूर हाेटलमा एक कार्यक्रमकाबीच आफ्नो साधारण सभा सम्पन्न गरेको हो।
कार्यक्रममा बाेल्दै उपसचिव कोइरालाले जेन्जी आन्दोलन पछि विद्यार्थी तथा अभिभावकहरुको धेरै गुनासो आउने गरेकाे बताए। उनले सूचिकृत भएको संस्था कम भएको कारण हालमात्र मन्त्रालयमा ४ सयभन्दा बढी गुनाँसो रहेको जानकारी दिए। साथै उनले यस परामर्श क्षेत्रमात्र नभई जुनसुकै क्षेत्रका व्यवसायीहरुले कानुन अर्न्तगत रहेर सरकारसँग सहकार्य गरेमा देशको अर्थतन्त्र समेत उच्च हुने बताए।

यस्तै नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले जाल्सान महासंघको एक दरीलो सदस्य रहेको बताउँदै यस्ता बाँकी सातवटा संघहरु मिलेर काम गरेमा यस परामर्श व्यवसायी क्षेत्रले रुप फेर्ने बताए। व्यवसायीको हितका लागि फुटेर नभई जुटेर काम गर्नु पर्ने बताउँदै उनले जापानीज भाषा तथा शिक्षा परामर्श क्षेत्रका देखिएका समस्या हल गर्न महसंघले पहल गर्ने बताए।

जालसानका अध्यक्ष रमेश देवकोटाले जालसानले नेपालमा सञ्चालनमा रहेका स्कुलहरूलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा भूमिका निर्वाह गर्दै आएको बताए। हामीसँग थुप्रै अफ्ठ्यारा चुनौती र समस्याहरु छन्, त्यस्ता समस्या र चुनौतीको सामना गर्दै अगाडी बढ्नु छ,’ उनले भने, ‘अझैपनि जापान पढ्न जाने विद्यार्थीलाई दिइने नो अब्जेक्सन सर्टिफिेट (एनओसी)मा सरकारले विभेद गरिरहेको छ, यसलाई हटाउन विभिन्न माध्यमबाट पहल गरिरहेका छौँ।’
शैक्षिक परामर्श क्षेत्रको उत्थानको लागि नीतिगत तहमा सरकारसँग समन्वय गर्न व्यवसायीहरुको एउटै छाता संगठन महासंघ हुनुपर्ने महसुस गर्दै नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघमा जाल्सान पनि आवद्ध भएको अध्यक्ष देवकोटाले जानकारी दिए। उनले जापानकाे शिक्षा र शैक्षिक परामर्श क्षेत्रका सबै संघसंस्थासँग समदूरी राख्दै सहकार्य गर्न जाल्सान तत्पर रहेको बताए। यतिमात्र नभई विभिन्न कालखण्डमा जाल्सानले सामाजिक कार्यमा पनि योगदान पुर्याएको स्मरण गरे।

साथैँ उनले यस क्षेत्रकाे समस्याकाे समाधान गर्न शिक्षामन्त्रालय, सरकार र व्यवसायीहरु मिल्नुपर्ने दाबी गरे। बरालले अहिले जापान पढ्न जाने विद्यार्थीहरुलाई शिक्षा मन्त्रालयले एनओसी दिने क्रममा झमेला सिर्जना गरिरहेको भन्दै यसको छिटै निराकरण हुने बताए। कार्यक्रममा नेपालमा सञ्चालित शैक्षिक परामर्श व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षामन्त्रालय अन्तर्गतकाे शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाकाे प्रमुख अतिथि र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालकाे विशेष अतिथि रहेका थिए।
