काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि शिव प्रसाद अर्यालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। पुस २८ गते हुने इक्यानको केन्द्रीय निर्वाचनका लागि लक्ष्मण पौडेल ‘एन्ड्रयु’ प्यानलबाट सदस्यको दावेदारी प्रस्तुत गर्दै अर्यालले उम्मेदवारी दिएका हुन्।
अर्याल विगत दुई दशक देखि नेपालमा भारतीय अध्ययन गन्तव्यलाई प्रवर्दन गर्दै आइरहेका छन्। इन्डो वर्ल्ड एजुकेशनल कन्सल्टेन्सी संस्थापक एवं प्रबन्ध निर्देशकअर्यालले २० वर्षको अवधिमा भारतका विभिन्न शहरमा रहेका ६०० भन्दा बढी शैक्षिक संस्थाहरूको भ्रमण गरिसकेको उल्लेख गरेका छन्।
भारतलाई अध्ययन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने कन्सल्टेन्टहरूको संख्या अत्यन्त न्यून रहेको भन्दै नजीकैको गन्तव्यलाई इक्यान र आम विद्यार्थीलाई जोड्ने प्रयास स्वरुप केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको अर्यालले बताए।‘नेपाली विद्यार्थीहरुको अध्ययन गन्तव्य बन्ने अपार सम्भावना हुँदाहुँदै पनि चुनौती र कठिनाइहरूको सामना गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘इक्यान सदस्यहरूमध्ये भारतलाई अध्ययन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने कन्सल्टेन्टहरूको संख्या अत्यन्त न्यून छ, यसलाई प्राथमिकता दिन मेरो उम्मेदवारी परेको हो।’
विगतमा केही भारतीय विश्वविद्यालय तथा कलेजहरूको अव्यवसायिक व्यवहारका कारण भारतलाई यूके, अष्ट्रेलिया जस्ता देशहरूसरह मुलधारको गन्तव्यका रूपमा लिन नसकिएको अर्यालको भनाई छ। उनले संस्थागत रुपमा भारतलाई नेपाली विद्यार्थीहरूका लागि सुरक्षित, भरोसायोग्य, सुलभ र किफायती अध्ययन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।‘इक्यान केन्द्रीय समितिमा मेरो उपस्थितिले भारतलाई कन्सल्टेन्टहरूकाबीच प्रमुख परामर्श गन्तव्य र अभिभावक तथा विद्यार्थीहरूका लागि किफायती र गुणस्तरीय विकल्पका रूपमा विकास गर्न प्रभावकारी भूमिका खेल्नेछ,’ उनले भने।
भारतीय शैक्षिक संस्थाहरूलाई पनि यूके, अष्ट्रेलिया लगायतका अन्तर्राष्ट्रिय गन्तव्यका विश्वविद्यालयहरू सरह व्यवसायिक र पारदर्शी बनाउनु आजको आवश्यकता रहेकाले यसको प्रवर्दनका लागि आम इक्यानियनको साथ, सहयोग र शुभेच्छा रहने अर्यालले विश्वास लिएका छन्।
भारतीय विश्वविद्यालय तथा कलेजहरूसँगको कार्यसम्पर्कलाई अझ विकसित, परिपक्व र व्यवसायिक वातावरणमा रूपान्तरण गर्ने आफ्नो प्रयासलाई व्यवहारमा उतार्न आम इक्यानियनहरुलाई साथ, सहयोग र अमूल्य मत प्रदान गरी केन्द्रीय सदस्यमा बिजयी गराइदिन आग्रह अर्यालले आग्रह गरेका छन्।