काठमाडाैँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औँ साधारणसभा सम्पन्न भएकाे छ। काठमाडाैँ गैरिधारास्थित एलिस रिसेप्सनमा भएकाे साधारणसभाकाे प्रमुख अतिथी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल रहेका थिए। २०औँ साधारणसभासँगै इक्यानले आजै नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ। नयाँ नेतृत्वकाे निर्वाचन प्रक्रिया सुरूभएसँगै बर्तमान अध्यक्ष शेषराज भट्टराईको कार्यकाल पुरा हुने भएकाे छ। इक्यान निर्वाचनका लागि अध्यक्षमा बर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) र महासचिव दीपकराज भुसालबीच प्रतिस्पर्धा हुँदैछ।

कार्यक्रममा बाेल्दैँ प्रमुख अतिथि खरेलले राजनीतिक दल र नेताको दास, अन्धभक्त र हनुमानको रुपमा प्रस्तुत नभई निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन्। उनले इक्यान संस्थासँग आफू पत्रकार हुँदादेखी सहकार्य गरेको जानकारी दिदैँ ईक्यानले ग्लोबल एजुकेशनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए। खरेलले इक्यान व्यवसायीले देशको अर्थतन्त्रमा थोरैधेरै सुधार ल्याएको समेत दाबी गरे। साथै उनले आगामी दिनमा आफू जुनसुकै पद र पेसामा भएतापनि इक्यानलाई सहयोग गर्ने प्रतिवद्दता समेत जनाए।
मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न उनले आग्रह गरे। सञ्चारमन्त्री खरेलले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताए। उनले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएपछि सहज रुपमा नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गरे।

यस्तै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्ष प्रकाश पाण्डेले नेपाल शैक्षिक परामर्श क्षेत्रका व्यवसायीलाई सहजता र स्पष्टताको लागी ऐन, नियम आवश्यक रहेको दाबी गरे। उनले ७३० भन्दा बढी सदस्य र ८ वटा शाखाहरू भएको ठूलो संस्था सञ्चालन गर्ने अनुभवी व्यवसायीहरुलाई राज्यले सुनिश्चित गरी ऐन बनाउन जरुरी रहेको बताए।
साथै पाण्डेले इक्यानले सुरुवाती दिनदेखी नै शिक्षा मन्त्रालय र सरकारसँग कानुन अनुरुप सम्पर्कमा रहेर सरकार्य गर्दे आएको जानकारी दिए। पाण्डेले सामाजिक सञ्जालको ‘रिल’ युद्धभन्दा ‘रियल’मा मतदाताको मन र मत जित्नु प्रमुख कुरा भएको बताउँदै राम्रो नेतृत्व चयनको लागि अपिल समेत गरेका छन्।
साधारणसभामा बाेल्दै बर्तमान अध्यक्ष शेषराज भट्टराईले आफ्नो दुई वर्षको कार्यकालमा इक्यान संस्थाको लागि आफू र आफ्नो सम्पूर्ण टिमले सक्ने गरेको बताए। उनले इक्यानको नेतृत्व लिदैँ गर्दा सहाकार्यको लागि हात फिजाउने र कार्यमा सहयोग गर्ने टिमलार्ई समेत धन्यावाद ज्ञापन गरे।
नेपालको शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नेतृत्व सम्हालेका शेषराज भट्टराईको कार्यकाल आजबाट समापन भएको छ। दुई वर्षको नियमित कार्यकाल र पछि थपिएको ६ महिना सहित उनको नेतृत्वले इक्यानलाई नयाँ उचाइमा पुर्याएको छ।
२०२३ जुलाईमा निर्वाचित भएका भट्टराईको दुई वर्षे कार्यकाल मूल रूपमा २०२५ जुलाईमा समाप्त हुने थियो, तर उनको सफल नेतृत्व र उपलब्धीहरूका कारण सम्मानस्वरुप ६ महिना थप गरिएको थियो। इक्यानको इतिहासमा यसरी कार्यकाल थपिनुलाई उनको नेतृत्वको सफलता र सर्वस्वीकार्यताको रूपमा हेरिएको छ।




