काठमाडौँ - नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइका रूपमा जापान उभिन थालेको छ। साथै विदेश अध्ययनका लागि जानेमध्ये सबैभन्दा धेरै विद्यार्थीले व्यवस्थापन विषय रोज्ने गरेको पाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई प्रदान गर्ने पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) को गत आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको विवरणले जापानप्रति आकर्षण बढ्दै गएको देखाएको हो। जापानी भाषा सिकेपछि त्यहाँ थप अध्ययन र रोजगारीका अवसर सहज हुने भएकाले जापान जाने विद्यार्थीको संख्या बढेको मन्त्रालयको भनाइ छ। केही वर्षअघिसम्म नेपाली विद्यार्थीको पहिलो रोजाइ अष्ट्रेलिया हुने गरेको थियो।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म कुल २८ हजार ५८५ विद्यार्थीले भक्तपुरको सानोठिमीस्थित शाखाबाट एनओसी लिएका छन्। तीमध्ये जापानका लागि ९ हजार ४५३, अष्ट्रेलियाका लागि ७ हजार ७३० र संयुक्त अधिराज्य बेलायतका लागि ४ हजार ६११ विद्यार्थीले स्वीकृति लिएका छन्।
मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखाका प्रमुख वीरेन्द्रजङ्ग थापाका अनुसार गत फेब्रुअरीमा भएको जापानी भाषा परीक्षाका कारण पछिल्ला दिनमा जापान जाने विद्यार्थीको संख्या बढेको हो।
उनले केही समय ‘एनआइडिसी’ को प्रणाली बन्द भएका कारण सेवा दिन ढिलाइ भएको उल्लेख गर्दै अब अनलाइन प्रणालीमार्फत आवेदन र स्वीकृतिको प्रक्रिया सञ्चालन भइरहेको बताए। आवश्यक कागजात पूरा गरेका आवेदकलाई पालोअनुसार स्वीकृति प्रदान गरिने उनले जानकारी दिए।
जापान जाने तयारीमा रहेका जुम्लाका नवराज देवकोटाले एनओसी शाखामा विद्यार्थीको भीड अत्यधिक भएकाले आफ्नो आवेदनको अवस्थाबारे जानकारी लिन कठिन भएको गुनासो गरे। उनी जापानको फुकोकास्थित क्युरिन इन्टरनेशनल जापानी भाषा कलेजमा अध्ययन गर्न जाने तयारीमा छन्।
गत आर्थिक वर्ष २०८१/०८२ मा ८४ देशका लागि कुल १ लाख २३ हजार ५८९ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि स्वीकृति लिएका थिए। तीमध्ये जापानका लागि ३९ हजार ८४७, बेलायतका लागि २७ हजार ४७५, अष्ट्रेलियाका लागि १६ हजार २७९, दक्षिण कोरियाका लागि ९ हजार ७५७ र संयुक्त राज्य अमेरिकाका लागि ८ हजार ८७० विद्यार्थी रहेका छन्।
अध्ययन गर्ने विषयका आधारमा भने सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन विषयमा देखिएका छन्। गत आर्थिक वर्षमा १ लाख १६ हजार ७८० विद्यार्थीले व्यवस्थापन विषयका लागि एनओसी लिएका छन्। त्यसपछि सूचना प्रविधि (३० हजार ७४४), विज्ञान (२० हजार ६७४) र हस्पिटालिटी (१४ हजार २३) विषयमा विद्यार्थी रहेको मन्त्रालयको तथ्यांक छ।
विद्यार्थीलाई विदेशमा अध्ययन गर्दा समस्या नहोस् भन्ने उद्देश्यले मन्त्रालयले विदेशका विश्वविद्यालय र कलेजहरूको आधिकारिकता तथा भौतिक पूर्वाधारका आधारमा कार्यक्रमगत सूची अद्यावधिक गरेको छ। ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ (संशोधनसहित) अनुसार टाइम्स हाइयर एजुकेशन वा क्यूएस वल्र्ड युनिभर्सिटी र्याङ्किङमा सूचीकृत विश्वविद्यालयहरूको सूची फागुन ११ गते अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले चीन, अष्ट्रेलिया, नर्वे, यूएई, बेलायत, आयरल्याण्ड, स्पेन, माल्टा, अमेरिका, जर्मनी, इटली, लिथुवानिया, गणतन्त्र कोरिया, कतार र माल्दोभाका विश्वविद्यालय तथा कलेजसम्बन्धी आधिकारिक जानकारी उपलब्ध गराउने पोर्टलसमेत सार्वजनिक गरेको छ, जसले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई सही जानकारी प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।