काठमाडौँ- ४७औँ शिक्षक दिवस तथा नयाँ वर्ष २०८३ को अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनले सोमबार ललितपुरको कुमारीपाटी स्थित आफ्नै कार्यालयमा शुभकामना कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष हंसबहादुर शाहीले शिक्षक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै हालका नीतिहरूप्रति असन्तुष्टि व्यक्त गरे। उनले शिक्षक आन्दोलन ४७ वर्षको संघर्ष, समर्पण र उपलब्धिको प्रतीक भएको उल्लेख गर्दै शिक्षालाई मौलिक अधिकारका रूपमा स्थापित गरिए पनि व्यवहारमा अझै चुनौती कायम रहेको बताए।

अध्यक्ष शाहीले संविधानको धारा ३१ र ३४ ले शिक्षा तथा श्रमिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै शिक्षकहरूको ट्रेड युनियन अधिकार कुण्ठित गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पारे।
उनले संघीय शिक्षा ऐन जारी हुन नसक्नु, विभिन्न प्रकारका शिक्षक तथा कर्मचारीबीचको असमानता, तथा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयनमा ढिलासुस्ती जस्ता समस्या हाल विद्यमान रहेको उल्लेख गरे।
उनले सरकारले हालै गरेको ‘दलगत ट्रेड युनियन खारेजी’ सम्बन्धी निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णयले अन्तर्राष्ट्रिय श्रम संगठनका मापदण्ड उल्लंघन गर्ने पनि बताए।

अध्यक्ष शाहीले शिक्षक आन्दोलन अब अधिकार माग्ने चरणबाट अगाडि बढेर गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे। साथै, शिक्षक आन्दोलनलाई पेसागत सीमाभन्दा बाहिर सामाजिक परिवर्तनको अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा संगठनका पूर्वअध्यक्ष, शिक्षक तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। संगठनले आगामी दिनमा शिक्षक एकतालाई थप सुदृढ बनाउँदै साझा ट्रेड युनियन अवधारणालाई मजबुत बनाउने रणनीति अघि सारेको जनाएको छ।