काठमाडौँ - स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रशासनद्वारा विभिन्न शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन तथा निगरानी प्रक्रियाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।
संघले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित, पारदर्शी र विद्यार्थीमैत्री बनाउन आफूहरू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै सदस्य संस्थाहरूलाई इथिकल प्र्याक्टिस अपनाउन तथा विद्यार्थी र अभिभावकको विश्वास कायम राख्न निरन्तर आग्रह गर्दै आएको जनाएको छ।
फेकनका अनुसार विदेश अध्ययनका क्रममा विद्यार्थीहरूले बुझाउने ट्युसन फी लगायतका शुल्क नेपाल सरकारबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गरेपछि बैंकिङ प्रणालीमार्फत विद्यार्थी स्वयंले सम्बन्धित शैक्षिक संस्थामा पठाउने व्यवस्था रहेको छ। यस्तो अवस्थामा धरौटी वा अनावश्यक अतिरिक्त शुल्कबारे भ्रम सिर्जना गर्नु उपयुक्त नहुने संघको भनाइ छ।संघले शैक्षिक परामर्श क्षेत्रमा केही विकृति तथा अस्वस्थ अभ्यास देखिएको स्वीकार गर्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि आफ्ना सदस्य संस्थाहरूलाई सचेत गराउने, समन्वय गर्ने तथा सुधारका पहलहरू अघि बढाउँदै आएको जनाएको छ।
फेकनले नेपाल सरकार तथा प्रहरी प्रशासनबाट भइरहेको हालको अनुगमन प्रक्रियालाई सकारात्मक रूपमा लिएको र स्वागत गरेको पनि स्पष्ट पारेको छ। तर, कानुनी प्रक्रिया पूरा गरिसकेका केही शैक्षिक परामर्श संस्थाहरूले प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा सम्बन्धी निकाय तथा अनुमति दिने सरकारी कार्यालयहरूबाट समयमै नवीकरण, दर्ता तथा स्वीकृतिपत्र प्राप्त गर्न नसक्दा व्यावसायिक कठिनाइ भोग्नुपरेको उल्लेख गरिएको छ। यस्ता विषयमा सम्बन्धित मन्त्रालय तथा निकायसँग आवश्यक यथार्थ बुझेर मात्रै प्रहरी प्रशासनले थप संवेदनशीलता र समन्वयका साथ अनुगमन अभियान सञ्चालन गर्न फेकनले आग्रह गरेको छ।
त्यसैगरी, अनुसन्धान तथा सोधपुछको प्रक्रियामा रहेका व्यवसायीहरू अदालत वा सम्बन्धित निकायबाट दोषी प्रमाणित नभएसम्म उनीहरूको व्यक्तिगत विवरण, तस्वीर वा संस्थागत पहिचान सार्वजनिक गर्नु कानुनी तथा नैतिक दृष्टिले संवेदनशील विषय भएको संघले जनाएको छ। व्यवसायीहरूको गोपनीयता, प्रतिष्ठा तथा मनोबललाई ध्यानमा राख्दै यस्ता सामग्री अनावश्यक रूपमा सार्वजनिक नगर्न तथा जिम्मेवार ढंगले प्रस्तुत गर्न फेकनले प्रशासनिक निकाय र सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।
शैक्षिक परामर्श क्षेत्रलाई अझ जिम्मेवार, व्यवस्थित, पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन सरकार, सरोकारवाला निकाय र व्यवसायीहरूसँग सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको फेकनले जनाएको छ।
