काठमाडौँ- नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
दुवै संस्थाबीच भएको सहमतिअनुसार नेपालमा गुणस्तरीय उच्च शिक्षाको प्रवर्द्धन, शिक्षाको अन्तर्राष्ट्रियकरण तथा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन संयुक्त सहकार्य गरिनेछ।
इक्यानले विगत तीन दशकदेखि नेपाली विद्यार्थीलाई विश्वका विभिन्न देशका प्रतिष्ठित शैक्षिक संस्थासम्म पहुँच विस्तार गर्दै सुरक्षित, पारदर्शी र गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। त्यस्तै, आइप्यान नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त तथा शिक्षा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत उच्च शिक्षा प्रदायक संस्थाहरूको साझा संगठन हो, जसले नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउँदै आएको छ।
समझदारीपछि इक्यानका सदस्य संस्थाहरूले आइप्यान आबद्ध कलेज तथा शैक्षिक संस्थामा सञ्चालन हुने शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति, अध्ययनका अवसर तथा करियरसम्बन्धी अद्यावधिक जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकलाई थप तथ्यपरक र गुणस्तरीय शैक्षिक परामर्श उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ।
सहमतिअनुसार ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा अघि बढाउँदै नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइको अध्ययन गन्तव्य बनाउने लक्ष्य लिइएको छ। यसका लागि अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा शैक्षिक कूटनीतिलाई थप सुदृढ बनाइने जनाइएको छ।
यसका साथै क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, बीटुबी नेटवर्किङ, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको छ।
समझदारीमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति र विशेष शैक्षिक अवसर उपलब्ध गराउन समेत सहकार्य गर्ने उल्लेख गरिएको छ।
हस्ताक्षर समारोहमा दुवै संस्थाका पदाधिकारीहरूले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा सफल बनाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्।