काठमाडौँ- अस्ट्रेलियाको संघीय सरकारले विद्यार्थी भिसासहित विभिन्न भिसाको शुल्क वृद्धि गरेको छ। नयाँ व्यवस्था लागू भएसँगै अन्तर्राष्ट्रिय विद्यार्थी, अध्ययनपछि काम गर्न पाउने भिसाका आवेदक तथा उनीहरूलाई रोजगारी दिने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ।
नयाँ व्यवस्थाअनुसार विद्यार्थी भिसाको आवेदन शुल्क २ हजार अस्ट्रेलियन डलरबाट बढाएर २ हजार ५ सय अस्ट्रेलियन डलर पुर्याइएको छ। दुई वर्षअघि ७१० अस्ट्रेलियन डलर रहेको विद्यार्थी भिसा शुल्क अहिले २ हजार ५ सय अस्ट्रेलियन डलरसम्म पुगेको हो। सरकारले पहिलोपटक अंग्रेजी भाषा अध्ययनका लागि मात्र अस्ट्रेलिया जाने विद्यार्थीका लागि छुट्टै भिसा शुल्क निर्धारण गरेको छ। अब यस्ता विद्यार्थीले २ हजार ५० अस्ट्रेलियन डलर शुल्क तिर्नुपर्नेछ। यसअघि उनीहरूले अन्य अन्तर्राष्ट्रिय विद्यार्थीसरह शुल्क बुझाउँदै आएका थिए।
शैक्षिक संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न भिसा शुल्क घटाउन सरकारसँग माग गरिरहेका बेला सरकारले उल्टै शुल्क बढाउने निर्णय गरेको हो। अर्कोतर्फ, राष्ट्रवादी राजनीतिक दलहरूले विदेशीको बढ्दो प्रभाव नियन्त्रण गर्न कडा नीति अपनाउनुपर्ने माग गर्दै आएका छन्। अध्ययन पूरा गरेपछि अस्ट्रेलियामा काम गर्न पाइने स्नातकोत्तर कार्य भिसाको शुल्कमा पनि थप वृद्धि गरिएको छ। यस वर्षको मार्चमा २ हजार ३ सय अस्ट्रेलियन डलरबाट बढाएर ४ हजार ६ सय अस्ट्रेलियन डलर बनाइएको शुल्क जुलाई १ देखि पुनः बढेर ५ हजार ७ सय ५० अस्ट्रेलियन डलर पुगेको छ।
यस्तै,दक्ष जनशक्ति, जीवनसाथी तथा काम–बिदा कार्यक्रमअन्तर्गतका अधिकांश भिसाको शुल्कसमेत बढाइएको छ। साथै, अध्ययनपछि रोजगारदाताको प्रायोजनमा प्रदान गरिने भिसाका लागि आवश्यक न्यूनतम वार्षिक पारिश्रमिक ७६ हजार ५१५ अस्ट्रेलियन डलरबाट बढाएर ७९ हजार ४९९ अस्ट्रेलियन डलर कायम गरिएको छ।
यस परिवर्तनले विशेषगरी अध्ययन पूरा गरी अस्ट्रेलियामै रोजगारी र स्थायी बसोबासको प्रक्रिया अघि बढाइरहेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा उनीहरूलाई प्रायोजन गर्ने कम्पनीहरूलाई बढी प्रभावित गर्ने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाको गृह मन्त्रालयका अनुसार संशोधित सबै भिसा शुल्क र नयाँ मापदण्डहरू २०२६ जुलाई १ देखि अनिवार्य रूपमा लागू भइसकेका छन्।