काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी सेवा सञ्चालनका लागि स्वीकृति प्राप्त संस्थाहरूलाई आर्थिक वर्ष २०८३/८४ का लागि अनिवार्य रूपमा नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा ले सोमबार सूचना जारी गर्दै मन्त्रालयको कम्प्युटर एप्लिकेसन प्रणालीमा आबद्ध संस्थाहरूले २०८३ असार २२ गतेदेखि साउन ४ गतेभित्र cims.moest.gov.np मार्फत अनलाइन निवेदन दिनुपर्ने जनाएको हो।
मन्त्रालयका अनुसार तोकिएको समयभित्र नवीकरणका लागि आवेदन नदिने संस्थाको निवेदनमाथि कारबाही नहुने तथा नवीकरण नभएसम्म सम्बन्धित संस्थालाई सेवा सञ्चालनको अनुमति प्राप्त संस्थाको सूचीमा समावेश नगरिने स्पष्ट गरिएको छ।
नवीकरणका लागि कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्य विवरण, मन्त्रालयबाट प्राप्त स्वीकृति तथा पछिल्लो नवीकरण पत्र, कम्पनी दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक कागजात, आधिकारिक प्रतिनिधिसम्बन्धी विवरणलगायतका कागजात अनलाइनमार्फत पीडीएफ स्वरूपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ।
त्यसैगरी आवेदनमा समावेश गरिएका सबै विवरण तथा कागजात सत्यापन भएपछि मात्रै मन्त्रालयबाट भेरिफिकेसन हुने र त्यसपछि प्रणालीबाट सिर्जना भएको भौचरमार्फत राजस्व रकम बुझाउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
सूचनाअनुसार आर्थिक वर्ष २०८३/८४ देखि नवीकरणका लागि २० हजार रुपैयाँ राजस्व शुल्क कायम गरिएको छ। साथै, कुनै पनि विवरण गलत वा अपूर्ण भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित संस्था स्वयंले वहन गर्नुपर्ने मन्त्रालयले चेतावनी दिएको छ।
अनलाइन आवेदन भर्ने क्रममा कुनै समस्या आए मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।
