काठमाडौँ- अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर हालसम्मकै उच्च पुगेको छ। अस्ट्रेलियाको गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालबाट आवेदन दिएका विद्यार्थीमध्ये करिब ६४ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको छ। अस्ट्रेलियाली सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी छनोट प्रक्रियामा कडाइ गरेसँगै नेपाली विद्यार्थीको भिसा स्वीकृति दर उल्लेख्य रूपमा घटेको हो।
सरकारले विभिन्न देशलाई ‘इभिडेन्स लेभल’ का आधारमा वर्गीकरण गरी भिसा प्रक्रिया सञ्चालन गर्दै आएको छ। केही महिनाअघि गरिएको पुनरावलोकनपछि नेपाल लेभल–२ बाट लेभल–३ मा झरेको छ, जसका कारण नेपाली विद्यार्थीका आवेदन थप कडाइका साथ मूल्याङ्कन हुन थालेका छन्। तथ्यांकअनुसार सबैभन्दा धेरै भिसा अस्वीकृति व्यावसायिक शिक्षा ‘भेट’ कोर्समा देखिएको छ।
कम खर्चिलो र छोटो अवधिको मानिने यस कोर्समा आवेदन दिएका ५४९ विद्यार्थीमध्ये केवल ५६ जनाले मात्र भिसा पाएका छन् भने झन्डै ९० प्रतिशत आवेदन अस्वीकृत भएका छन्।हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन्। तीमध्ये करिब ५६ हजार पुराना विद्यार्थी हुन् भने नयाँ भिसा पाएर अध्ययन गरिरहेका विद्यार्थीको संख्या करिब ४ हजार रहेको छ।
नेपालबाट अस्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने विद्यार्थीको संख्या पनि घट्दै गएको छ। यस वर्ष जनवरीदेखि मेसम्म उच्च शिक्षाका लागि आवेदन दिएका ७ हजार ५ सय विद्यार्थीमध्ये २ हजार ७ सयले मात्र भिसा प्राप्त गरेका छन्। गत वर्ष सोही अवधिमा ८ हजार २८ जनाले आवेदन दिएकामा ७ हजार १ सय ६७ जनाको भिसा स्वीकृत भएको थियो।
भिसा स्वीकृत हुने सम्भावना कमजोर बन्दै जानु र आवेदन शुल्कसमेत बढाइएकाले विद्यार्थीहरू आवेदन दिन हिच्किचाउन थालेका छन्। हाल विद्यार्थी भिसाका लागि २ हजार ५ सय अस्ट्रेलियन डलर (करिब २ लाख ६० हजार रुपैयाँ) शुल्क तिर्नुपर्ने व्यवस्था छ। भिसा अस्वीकृत भएमा उक्त शुल्क सामान्यतः फिर्ता हुँदैन।
लामो समय विद्यार्थी भिसामै बस्ने प्रवृत्ति बढेपछि अस्ट्रेलियाली सरकारले विद्यार्थी भिसा नीतिमा कडाइ गरेको हो। उनका अनुसार रोजगार र आवास व्यवस्थापनका चुनौतीलाई नियन्त्रण गर्न पनि सरकारले यस्तो नीति अपनाएको बताइएको छ।