काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मास्टर्स इन बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएकै बेला सामाजिक सञ्जालमार्फत बाहिरिएको घटनामा परीक्षार्थी स्वयंको संलग्नता रहेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोको अनुसन्धानबाट पर्सास्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टरमा अध्ययनरत अब्दुल सानी हाकिमले परीक्षा हलबाटै प्रश्नपत्रको तस्बिर खिचेर ह्वाट्सएप ग्रुपमा पठाएको खुलेको हो। प्रहरीले उनलाई गत १२ साउनमा पक्राउ गरेको थियो।
गत ८ साउनमा एमबीएसको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र बाहिरिएको विवरणसहितको च्याट सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्रिविमा ठूलो विवाद उत्पन्न भएको थियो। घटनालाई लिएर विद्यार्थी तथा विभिन्न सरोकारवालाले विश्वविद्यालयका पदाधिकारी र शिक्षामन्त्रीको समेत राजीनामा माग गरेका थिए।
अनुसन्धानका क्रममा प्रश्नपत्र बाहिर्याउन विद्यार्थी अब्दुलसहित अन्य व्यक्तिको पनि संलग्नता रहेको खुलेपछि प्रहरीले ६ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि शिक्षा ऐन, २०२८ विपरीतको कसुर गरेको आरोप लगाइएको छ।
मुद्दामा केएमसी कलेज, बागबजार र हिमालय कलेज, कोटेश्वरमा व्यवस्थापन संकायतर्फ वित्त विषय पढाउने २५ वर्षीय सन्दीप सिंह, ३१ वर्षीय अतुलकुमार मिश्र,३० वर्षीयअब्दुल सानी हाकिम, २५ वर्षीय ऋषिकेशप्रसाद यादव, खुश्बु गिरी र देवनाथ महतो प्रतिवादी छन्। ऋषिकेश, खुश्बु र देवनाथलाई भने फरार प्रतिवादी बनाइएको छ।
प्रहरीका अनुसार उनीहरू प्रश्नपत्र तथा त्यससँग सम्बन्धित उत्तर फर्वार्ड गर्ने कार्यमा संलग्न थिए।
परीक्षा हलबाटै ह्वाट्सएपमा पठाए प्रश्नपत्र
प्रहरीसमक्ष दिएको बयानमा अब्दुलले आफूले परीक्षा हलमै बसेर प्रश्नपत्रको फोटो खिची ह्वाट्सएप ग्रुपमा पठाएको स्वीकार गरेका छन्। उनका अनुसार परीक्षा चलिरहेका बेला ‘एमबीएस फस्ट सेमेस्टर एक्जाम ग्रुप’ हेर्दा ‘सुलभ सर’ नामका प्रयोगकर्ताले भन्दै म्यासेज पठाएका थिए। त्यसपछि आफूले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर उक्त ग्रुपमा पठाएको उनले बताएका छन्।
अब्दुलले फोटो पठाएको केही समयपछि अर्का प्रयोगकर्ताले पनि प्रश्नपत्र पठाएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ‘सुलभ सर’ भनेर चिनिने सन्दीप सिंहलाई भने ९ साउनमै पक्राउ गरेको थियो। सिंहले विद्यार्थीलाई अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्नुका साथै नोटसमेत उपलब्ध गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सार्वजनिक भएको ह्वाट्सएप च्याटमा सिंहले पीडीएफ फाइल पठाएको देखिएको थियो। त्यसपछि एक विद्यार्थीले ‘सर, सोलुसन पनि पठाइदिनु न’ भन्दै आग्रह गरेको र सिंहले केही समयपछि थप सामग्री पठाउने आश्वासन दिएको देखिएको थियो। यस घटनाले त्रिविको परीक्षा प्रणाली, प्रश्नपत्रको सुरक्षा र अनलाइन माध्यमबाट हुने परीक्षा अनियमिततामाथि गम्भीर प्रश्न उठाएको छ।