काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोगलाई अनिवार्य बनाउनुपर्ने बताएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताए।
उनले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै सम्पन्न हुने सुनिश्चितता गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका छन्। प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन–अध्यापन, आन्तरिक मूल्यांकन, अन्तिम परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया निश्चित समयतालिकाअनुसार सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले विद्यार्थीले अध्ययन पूरा गरेपछि मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र प्राप्त गर्नसमेत लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। त्यसका लागि सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गरी ठोस कार्ययोजना बनाउन उनले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए।
‘प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन अध्यापनको समयावधि, प्रभावकारी आन्तरिक मूल्यांकन, अन्तिम परीक्षाको नतिजा प्रकाशन, मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र वितरणको यथार्थ समयतालिका र प्रविधिको उच्चतम प्रयोग गरी विद्यार्थीहरूलाई सेवा प्रवाह गर्न ठोस कार्ययोजना बनाई अगाडि बढ्न सम्बन्धित पदाधिकारीहरूलाई निर्देश गर्दछु,’ उनले भने।
उनले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कुनै कारणले प्रभावित भए त्यसको कारणसमेत सार्वजनिक गर्नुपर्ने बताए। साथै, प्रभावित क्यालेन्डरलाई सुधार गरी पूर्वनिर्धारित अवस्थामा ल्याउने समयसीमा पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले विश्वविद्यालय सञ्चालनमा सुशासनलाई प्राथमिकता दिँदै विद्यार्थी केन्द्रित सेवा प्रवाहमा जोड दिनुपर्ने बताए। विश्वविद्यालयका हरेक शैक्षिक गतिविधि पारदर्शी, प्रभावकारी र समयमै सम्पन्न हुने प्रणाली विकास गर्नुपर्ने उनको धारणा छ।
त्रिविलाई अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री सेवा प्रवाह आवश्यक रहेको मन्त्री पोखरेलले बताए।
शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन, सुशासन र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अघि बढ्न सके त्रिभुवन विश्वविद्यालयप्रति विद्यार्थीको विश्वास थप मजबुत हुने उनको भनाइ छ।