काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयका प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न प्रधानमन्त्रीले दिएको निर्देशन कडाइका साथ कार्यान्वयन गर्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन्।
त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले समयमा परीक्षा सञ्चालन नहुने र नतिजा प्रकाशनमा ढिलाइ हुने समस्या तत्काल समाधान गर्नुपर्ने बताए। विद्यार्थीको संख्या धेरै भएकै कारण परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ हुने अवस्था अन्त्य गर्न विश्वविद्यालयको कार्यप्रणालीमा संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो।
उनले नतिजा प्रकाशनलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन अधिकार तल्लो तहसम्म हस्तान्तरण गर्दै विश्वविद्यालयमा पूर्ण रूपमा विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुपर्नेमा जोड दिए।
‘त्रिभुवन विश्वविद्यालयमा समयमा परीक्षा नहुने र समयमा नतिजा नआउने गुनासो छ। हरेक संकायको नतिजा एक महिनाभित्र ल्याउनुपर्ने प्रधानमन्त्रीको निर्देशन छ। विद्यार्थी धेरै भएकाले नतिजा ल्याउन ढिलाइ भइरहेको छ। विकेन्द्रीकरणलाई लागू गर्नुपर्छ,’ मन्त्री पोखरेलले भने।
मन्त्री पोखरेलले त्रिविको समग्र शैक्षिक तथा प्रशासनिक प्रणालीमा सुधार गर्दै विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययनका लागि आकर्षित गर्ने ठोस योजना बनाउन आग्रह गरे। त्रिविलाई समयसापेक्ष, प्रविधिमैत्री र अनुसन्धानमुखी विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने उनले बताए।
नेपालको उच्च शिक्षा, दक्ष जनशक्ति निर्माण र राष्ट्र निर्माणमा त्रिभुवन विश्वविद्यालयले ऐतिहासिक योगदान पुर्याएको उल्लेख गर्दै मन्त्री पोखरेलले बदलिँदो विश्व परिवेशमा कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र विश्वव्यापीकरणबाट सिर्जित चुनौतीलाई अवसरमा बदल्नुपर्ने धारणा राखे।
उनले विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। विद्यार्थीलाई केवल प्रमाणपत्र प्राप्त गर्ने उद्देश्यमा सीमित नराखी ज्ञान, सीप, सिर्जनशीलता र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतासहित तयार पार्नुपर्ने उनको भनाइ थियो।
अनुसन्धानमा लगानी बढाउने, विश्वविद्यालय र उद्योगबीचको सहकार्य विस्तार गर्ने तथा शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्नुपर्नेमा पनि मन्त्री पोखरेलले जोड दिए। तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई विश्वविद्यालयको नियमित कार्यसम्पादनसँग जोड्दै सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउन उनले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए।
विश्वविद्यालय सुधारको केन्द्रमा विद्यार्थीलाई राख्नुपर्ने बताउँदै उनले विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन र समाजका लागि तयार पार्ने शैक्षिक प्रणाली विकास गर्नुपर्ने बताए। डिजिटल रूपान्तरणसँगै प्रविधिको जिम्मेवार र नैतिक प्रयोगका लागि आवश्यक नीति निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए।
फरक विचार र दृष्टिकोण भए पनि गुणस्तरीय शिक्षा र त्रिभुवन विश्वविद्यालयको संस्थागत सुदृढीकरणका लागि सबै पक्षबीच साझा प्रतिबद्धता आवश्यक रहेको मन्त्री पोखरेलले बताए। उनले त्रिविलाई अझ गुणस्तरीय, समावेशी, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा विकास गर्ने सामूहिक संकल्प गर्न आह्वान गरे।