काठमाडौँ- रोजगारीका लागि रसुवा पुगेका मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन रानामगरको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु भएको छ। गत बुधबार बिहान करिब ६ बजे सविनले श्रीमती रविनासँग फोनमा कुरा गरेका थिए। काम सुरु हुन लागेको भन्दै उनले श्रीमतीसँग पछि कुरा गर्ने बताएका थिए। उता घरमा रहेकी रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन्।
फोन राख्ने क्रममा सविनले ‘भरे कुरा गरौँला’ भनेका थिए। तर त्यसपछि आएको भोटेकोसीको भीषण बाढीले उनीहरूबीचको त्यो संवाद नै अन्तिम बन्यो। बाढीको खबर पाएपछि रविनाले श्रीमान्लाई पटक–पटक फोन गरिन्। तर फोन उठेन। त्यसपछि परिवारमा सविनको अवस्थाबारे चिन्ता बढ्यो।
सविन विगत चार वर्षदेखि रसुवास्थित जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए। एक महिनाको बिदा लिएर घर आएका उनी कम्पनीले बोलाएपछि बिदा छोट्याएर ७ भदौमा पुनः काममा फर्किएका थिए।
सविनकी ठूलीआमा नानीमाया रानाका अनुसार उनी मंगलबार मात्रै रसुवा पुगेका थिए र बुधबारदेखि काम सुरु गरेका थिए। काम सुरु गरेको केही समयमै आएको बाढीमा उनी बेपत्ता भएका थिए। सम्पर्कविहीन भएपछि परिवारले दुई दिनसम्म उनी सकुशल फर्कने आशा गरिरह्यो। तर कुनै खबर नआएपछि आफन्तहरूले अस्पताल तथा शव राखिएका स्थानमा पुगेर खोजी थाले।
अन्ततः सोमबार नवलपरासीमा फेला परेको एउटा शव सविनको भएको परिवारले पहिचान गरेको हो। शवको अवस्था बिग्रिएका कारण अनुहारबाट पहिचान गर्न कठिन थियो। तर उनको बायाँ हातमा रहेको ट्याटु परिवारका लागि पहिचानको आधार बन्यो।
भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युका अनुसार हातमा रहेको ट्याटुका आधारमा परिवारले सविनको शव पहिचान गरेको हो। सविनका बुबा लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन्। परिवारमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीया छोरी छन्।
परिवारको भविष्य सुरक्षित बनाउन रोजगारीका लागि रसुवा पुगेका सविन घर फर्कने तयारीमा थिए। तर ‘भरे कुरा गरौँला’ भन्दै श्रीमतीसँग छुट्टिएको त्यो बिहानको फोन नै उनको जीवनको अन्तिम संवाद बन्न पुग्यो। भोटेकोसीको बाढीले सविनको परिवारमा गहिरो शोकसँगै पाँच वर्षीया छोरीको जीवनबाट बाबुको साथसमेत खोसेको छ।