काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई छात्रवृत्ति, निःशुल्क अध्ययन (फ्रिसिप) तथा पुरस्कारसम्बन्धी विवरण वेबसाइटमा अद्यावधिक गर्न निर्देशन दिएको छ। निर्देशनालयले १६ भदौ २०८३ मा सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस, केन्द्रीय विभाग, विभाग, संकाय, स्कुल, कार्यक्रम तथा अन्य शैक्षिक–प्रशासनिक एकाइलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो।
त्रिविका प्रत्येक आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने सम्बन्धमा सूचना प्रकाशित भइसकेको जनाउँदै निर्देशनालयले सम्बन्धित क्याम्पसहरूबाट त्यसको कार्यान्वयन प्रक्रिया अघि बढिरहेको अपेक्षा गरेको छ। निर्देशनालयले क्याम्पसहरूले विद्यार्थीलाई उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिसहित अन्य सबै प्रकारका छात्रवृत्ति, निःशुल्क अध्ययन , पुरस्कार, प्रोत्साहन, आर्थिक सहायता तथा विद्यार्थी कल्याणसम्बन्धी अवसरहरूको सम्पूर्ण विवरण आफ्नो वेबसाइट वा पोर्टलमा ‘Scholarship’ शीर्षकअन्तर्गत राख्न आग्रह गरेको छ।
त्यस्तै, छात्रवृत्ति तथा पुरस्कारसम्बन्धी सूचना, योग्यता, आवेदन प्रक्रिया, छनोटका आधार, उपलब्ध संख्या तथा अन्य आवश्यक विवरणसमेत वेबसाइटमा समावेश गर्न निर्देशन दिइएको छ।
निर्देशनालयले वेबसाइटमा ‘Scholarship’ मेनु तयार गरी सो मेनुको प्रत्यक्ष लिंक (URL) सूचना प्राप्त भएको मितिले १५ दिनभित्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन आग्रह गरेको छ। क्याम्पसबाट प्राप्त हुने सबै लिंकलाई निर्देशनालयले आफ्नो वेबसाइटको ‘Scholarship’ मेनुअन्तर्गत एकीकृत गरी विद्यार्थीहरूले त्रिविका विभिन्न क्याम्पसमा उपलब्ध छात्रवृत्ति, निःशुल्क अध्ययन, पुरस्कार तथा अन्य विद्यार्थी सहायता कार्यक्रमसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने जनाएको छ।

निर्देशनालयले छात्रवृत्ति तथा विद्यार्थी सहायता कार्यक्रमलाई पारदर्शी, पहुँचयोग्य, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन यस्तो व्यवस्था महत्वपूर्ण हुने जनाएको छ।